डडेल्धुरा । डडेल्धुरामा डेंगुको संक्रमण बढ्न थालेको छ । पछिल्लो अवस्थामा जिल्लाका अस्पतालमा ४८ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुरा अस्पताल र जोगबुढा अस्पतालमा गरिएको परीक्षणमा ४८ जनामा डेंगु पोजेटिभ देखिएको हो । डेंगुको संक्रमण भई उपचार गराई रहेकामध्ये डडेल्धुरामा ३८, बझाङका २, डोटीका १ र बैतडीका ६ जना रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टलेले बताए ।
डडेल्धुरामा सबैभन्दा बढी संक्रमण अमरगढी नगरपालिका रहेको उनी बताउँछन् । अमरगढी नगरपालिकामा १५, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाका ७र७, अजयमेरु र नवदुर्गा गाउँपालिकाका ४र४ तथा आलिताल र भागेश्वर गाउँपालिकाका १र१ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक भट्टले बताए । आइतबार स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाममा आयोजना गरेको ‘डेंगु ज्वरोसम्बन्धी सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा उक्त तथ्यांक प्रस्तुत भएको हो ।
जिल्लामा डेंगु संक्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान पुनः सुरु गरिने भएको छ। सोमबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिने भएको हो ।
यसका साथै स्वास्थ्य कार्यालयले जिल्लाका सात वटै स्थानीय तहलाई ‘लार्भा खोज र नष्ट गर’ अभियान थाल्न पत्राचार गरिसकेको कार्यालयका प्रमुख केशरबहादुर साउँदले बताए । उनका अनुसार साउन पहिलो साता पनि उक्त अभियान चलाइएको थियो ।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान फेरि थालिने प्रमुख साउँदले बताए । डेंगु नियन्त्रणका लागि पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानीजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न आग्रह गरिएको छ ।
डेङ्गुको संक्रमण कसरी हुन्छ ?
डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् । ती हुन्, एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस । यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु को संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ ।
लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।
डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरसमध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ । दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर ज्वरो आउने खतरा बढ्छ । त्यसैलै डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।
कसरी थाहा पाउन सकिन्छ ?
डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ । कुनै पनि व्यक्तिको नसाबाट लिइएको रगतको नमूना लिइन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाइन्छ । रगत परीक्षणबाट डेङ्गु भाइरसबाट प्रभावित छ कि छैन भन्ने जानकारी पाउन सकिन्छ ।
डेङ्गु ज्वरो गर्भावस्थामा लागेमा कस्तो जटिलता हुनसक्छ ?
डेङ्गु ज्वरो गर्भावस्थामा लागेमा गर्भपतन, कम वजन वा समयभन्दा पहिले बच्चा जन्मिने जस्ता समस्या हुनसक्छ । तसर्थ, गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।
डेङ्गुका लक्षणहरू के-के हुन् ?
अधिकांश डेङ्गुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन । डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४) डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म देखिन्छ । साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरुमा आँखाको पछाडि भाग दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी, हड्डी तथा जोर्नी दुख्ने, शरीरका ग्रंथिहरु सुन्निने, छाला रातो हुनुका साथै छालामा डाबर आउने हुन्छ । लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ । डेङ्गुबाट पीडित २० जनामध्ये एक जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ ।