Paschim Express
डडेल्धुरामा फर्जी कागजात पेस गरेर सिम निकाल्ने इन्जिनियर सार्वजनिक

डडेल्धुरा । नेपाल टेलिकम डडेल्धुराबाट फर्जी प्रमाणपत्र पेस गरेर अर्काको नाममा रहेको सिम निकाल्दै ठगी प्रकरणमा संलग्न एकजनालाई पक्राउ गरि सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ का २६ वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरि सार्वजनिक गरेको हो । बोहरालाई प्रहरीले शनिबार घरबाटै पक्राउ गरेकोमा आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । 

उनी बित्थडचिर गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा कार्यरत प्रावधिक सहायक हुन् । बोहराले माघ २३ गते बित्थडचिर गाउँपालिकाका बासिन्दा मोहनबहादुर बोहराको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर उनले प्रयोग गरिरहेको सिमकार्ड अवैध रूपमा निकालेका थिए ।

उक्त सिमकार्डबाट सञ्चालित नविल बैंकको मोबाइल बैंकिङ एपबाट ७२ हजार एक सय ट्रान्सफर गरेर ३५ हजार रुपैयाँको नमस्ते र ३५ हजारकै एनसेलको रिचार्ज कार्ड खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सदरमुकाम बागबजारस्थित मित्र मोबाइल पसलबाट रिचार्ज कार्ड किनेर उनी बझाङ गएको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरिक्षक कुसुम नायकले जानकारी दिए । डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दीपकुमार कार्कीले अपरिचित व्यक्तिले मतदाता नामावली प्रमाणपत्र दुरुपयोग गरेर आफुले प्रयोग गरिरको सिमकार्डमार्फत बैंक खातामा रहेको रकम झिकेपछि बिहीबार पीडित बोहराले प्रहरीमा उजुरी दिएको जानकारी दिए ।

पीडितको उजुरीका आधारमा डडेल्धुरा प्रहरीले मोबाइल लोकेशन ट्रेस गरेर बझाङ प्रहरीलाई खबर गरेको थियो । त्यसपछि बझाङ प्रहरीले अभियुक्त धनबहादुरलाई पक्राउ गरेर डडेल्धुरा प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update