Paschim Express
डडेल्धुरामा आमाबुवाबाट टाढा रहेकी बालिकामाथि पहिले काकाबाटै दुष्कर्म, अहिले अर्का युवकले गरे बलात्कार

डडेल्धुरा । डडेल्धुराको भित्रिमधेशमा पर्ने आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका आफ्ना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवाआमा रोजगारीका लागि भारतमा बस्छन् । गरिब भएको र आमाबावु घरबाहिर रहेको अवस्थाको फाइदा उठाउँदै उनीमाथि पटकपटक दुष्कर्म भएको खुलेको छ । उनलाई काका नाता पर्ने एकजनाले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । त्यो घटनाबारे हालै घटेको अर्को घटनाले खुलासा गरेको हो ।

यहि आइतबार उनको स्वास्थ्यमा समस्या आएको थियो । सोही कारण उनलाई परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल लगिएको थियो । चेकजाँच गरेपछि चिकित्सकले उनीमाथि बलात्कार भएको बताए । त्यसबारे बालिकालाई सोधपुछ गर्दा गाउँकै युवकबाट बलात्कृत भएको खुल्यो ।  

त्यसपछि आफन्तले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जाहेरी दर्ता गरेका थिए । सोही जाहेरीका आधारमा प्रहरीले आलिताल गाउँपालिका–५ का २० वर्षीय पुष्कर थापालाई पक्राउ गरेको छ । उनले बालिकालाई माघ ६ गते बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा बाालिकालाई काका नाता पर्नेले समेत दुष्कर्म गरेको खुलेको हो । उनले डरधम्कीका दिएका कारण घटनाबारे बालिकाले कसैलाई नभनेको बताइएको छ । उनीमाथि गतवर्ष भदौमा काका नाता पर्नेबाट बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती युवक अहिले भारतमा छन् । पोल खुल्ने डरले उनी भारत गएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

आफन्तबाट जाहेरी लिएर युवकलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update