Paschim Express
डडेल्धुरामा खाद्यले पठायो २ सय क्विन्टल मसिनो चामल, बिक्री केन्द्रमा छ ताला

डडेल्धुरा । अमरगढी नगरपालिकाकी सम्झना बोहरा पछिल्लो एक महिनामा ५ पटक डडेल्धुराको खाद्यान्न बिक्री केन्द्रमा पुगिन् । मसिनो चामल खरिदका लागि केन्द्रमा पुगेकी बोहराले चामल भने कहिल्यै खरिद गर्न पाइनन् । बिक्री केन्द्रमा चामल नभएर भने होइन । चालम छ तर बिक्री केन्द्रमा ताला लगाइएको छ । ‘चाडपर्वको समयमा घर पठाउनका लागि चामल खरिद गर्न पटकपटक बिक्री केन्द्रमा पुगेकी छु,’ उनले भनिन्, ‘तर, बिक्री केन्द्र सधैं बन्द थियो ।’

अमरगढी नगरपालिकाकी स्थानीय निर्मला जोशीको गुनासो पनि फरक छैन । ‘विगतमा १ बजेसम्म बिक्री केन्द्र खुल्ने गरेको थियो,’ जोशीले भनिन्, ‘पछिल्लो समयमा भने बिक्री केन्द्र बन्द हुन्छ ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले डडेल्धुराको बसपार्क नजिक खाद्यान्न बिक्री केन्द्र सञ्चालन गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी प्रमुख एन्जिला बस्नेतले असोज ४ गते मात्रै डडेल्धुरा डिपोको लागि दुई सय क्विन्टल चामल पठाएको जानकारी दिइन् । ‘डडेल्धुरा डिपोमा दानबहादुर निदाल नामका एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्,’ उनले भनिन्, ‘डिपो बन्द रहेको जानकारी आएपछि निदाललाई सम्पर्क गर्न खोजिरहेका छौं । तर उनी सम्पर्कमा आएका छैनन् ।’ निदालको फोन नम्बर लामोसमयदेखि अफ छ । 

प्रादेशिक प्रमुख बस्नेतका अनुसार चाडपर्व नजिकिएपछि डडेल्धुराका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मसिनो चामल पठाएको हो । ‘प्रतिकिलो ९० रुपैयाँ पर्ने मसिनो चामल पठाएका थियौं,’ उनले भनिन्, ‘हामीले ७ रुपैयाँ छुट दिने गरेका छौं । उपभोक्ताले ८३ रुपैयाँमा चामल पाउनेछन् ।’
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update