Paschim Express
डडेल्धुराको परशुराममा मेयर–उपमेयर कप भलिबल तथा क्रिकेट प्रतियोगिता हुँदै

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा ‘नगरस्तरी चौथो मेयर, उपमेयर कप भलिबल तथा प्रथम पुरुष मेयर कप क्रिकेट प्रतियोगिता २०८०’ भोलिदेखि सुरु हुने भएको छ । माघ ६ गतेको कार्यपालिकाको निर्णयअनुसार भलिबल र क्रिकेटका खेलहरु भोलिदेखि सुरु हुने भएका हुन् । खेलहरु परशुराम नगरपालिकास्थित रंग मैदानमा हुनेछन् । 

१ गतेसम्म टिम दर्ताको लागि समय तोकिएकोमा बिहीबार नगरस्तरी मेयर– उपमेयर कपको उद्घाटन हुने परशुराम नगरपालिका वडा नम्बर ६ का अध्यक्षसमेत रहेका प्रतियोगिताका संयोजक खगेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रतियोगिताअन्तर्गत प्रथम पुरुष मेयर कप क्रिकेटको बिजेता टिमलाई नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उपबिजेता टोलीलाई नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने परशुराम नगरपालिकाले जनाएको छ ।

यस्तै चौथो मेयर–उपमेयर कप भलिबल प्रतियोगिताको महिला र पुरुषतर्फको बिजेता टोलीलाई नगद एक लाख, दोस्रो हुने टिमलाई नगद ५० हजार र तेस्रो हुने टिमलाई २५ हजारसहित चौथो ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

खेलकुदलाई स्थानीय तह, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म विकास गर्ने उद्येश्यसहित ‘नगरस्तरी चौथो मेयर, उपमेयर कप भलिबल तथा प्रथम पुरुष मेयर कप क्रिकेट प्रतियोगिता २०८०’ आयोजना गरिएको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update