Paschim Express
डडेल्धुराले अब बिरामी होइन, डाक्टर पठाउनेछ

डडेल्धुरा । ०७८ साल माघ १० गते बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय ग¥यो । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीचको समझदारीबाट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने छ,’ मन्त्रिपरिषदको निर्णयमा भनिएको थियो, ‘डडेल्धुरा अस्पताल नै आधार संकायका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकता साथ अघि बढाउने छ ।’

प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै स्वास्थ्य मन्त्रालयले प्रस्ताव लगेकोमा मन्त्रिपरिषद्ले मेडिकल कलेजको रुपमा अगाडि बढाउने निर्णय गरेको थियो । सोही निर्णयपछि जेठ १५ गते सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको योजना अटायो । बजेटमा नै ‘डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने’ उल्लेख भएपछि जिल्लावासी डाक्टर उत्पादनको सपना बुन्न थाले ।

जिल्लास्तरीय समन्वय समिति गठन गर्दै मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाइयो । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य राखिएको थियो ।

जिल्लास्तरीय समन्वय समितिको अुवाइमा मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गाको जोहो गरियो । मेडिकल कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएपछि रणनीतिक योजना बनाएर काम अगाडि बढाइएको थियो । 

सोही क्रममा भदौ पहिलो साता चिकित्सा शिक्षा आयोगको टोलीले डडेल्धुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमन गरिएको थियो । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीका अनुसार डडेल्धुरा मेडिकल कलेजमार्फत पाँचवटा विषय अध्यापनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति माग गरिएको थियो ।

‘हामीले ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी, पब्लिक हेल्थ, फार्मेसी, फिजियोथेरापी र बिएस्सी नर्सिङका कक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेका थियौँ,’ डिन जोशीले भने, ‘ती विषयका कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार र उपकरण छन् वा छैनन् भनेर चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेको थियो । अनुगमनपछि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापनका लागि मात्रै अनुमति पायौं ।’ 

अन्ततः ३० माघदेखि डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालन भएको छ । कलेजले बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको डिन जोशीले बताए । १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएर पढाइ सुरू भएको उनले जानकारी दिए ।

‘विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएसी एमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सात जना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन भएको हो,’ उनले भने, ‘एकजना थप शुल्क तिरेर पढ्ने विद्यार्थी पनि भर्ना भएका छन् ।’

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले पढाइ सुरु गर्नुअघि विद्यार्थीलाई अभिमुखीकरण पनि गरिएको जानकारी दिए । उनका अनुसार सोही कार्यक्रममा मेडिकल कलेजका अध्यापक र अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत पनि गरिएको छ । ‘डडेल्धुराबाट डाक्टर उत्पादन गर्ने योजनासहित सुरु भएको लक्ष्यको सुरुवात भइसकेको छ,’ ओझाले भने, ‘अबको केही वर्षभित्रै एमबिबिएसको अध्यापन पनि सुरु गर्ने तयारीमा हामी जुटेका छौं ।’

एमबिबिएसको पढाइ सुरु गर्न डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शड्ढयामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति भए हामी ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ । बिएस्सी नर्सिङको पढाइ गर्नका लागि यसै आर्थिक वर्षमा फेरि अनुमति माग गर्ने तयारीमा सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य तथा विज्ञान संकाय लागेको छ । 

कसरी भयो मेडिकल कलेज स्थापनाको निर्णय
डडेल्धुरा र डोटीमध्ये कुनै एक ठाउँमा मेडिकल कलेज स्थापना हुनुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी डडेल्धुरा अस्पतालमै पुगेर अनसन बसेका थिए । मेडिकल कलेज स्थापनाकै लागि डाक्टर केसीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत पठाएका थिए । ‘२०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पु¥याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिनुपर्छ ।

हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोलिनुपर्छ,’ डाक्टर केसीले ०७८ साउनमा तत्कालिन प्रधानमन्त्री देउवालाई पठाएको पत्रमा उल्लेख थियो । 

त्यसको ६ महिनापछि माघमा मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज स्थापनाको निर्णय ग¥यो । मेडिकल कलेज स्थापना गर्न प्रारम्भिक काम भने फागुनदेखि नै अगाडि बढेको थियो । ०७८ साल फागुन अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, प्रशासन महाशाखा प्रमुख अशोकसिंह भण्डारी सहितको टोलीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक जग्गा तथा वातावरणबारे जानकारी लिएको थियो ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको विज्ञ टोली तथा तत्कालिन प्रधानमन्त्री देउवाले समेत डडेल्धुरा मेडिकल कलेजको लागि जग्गा र अन्य प्राविधिक पाटोका विषयमा जानकारी लिन निर्देशन दिएपछि विश्वविद्यालयको टोली डडेल्धुरा पुगेको थियो । उक्त टोलीले जिल्लामा मेडिकल सञ्चालनको निर्णय उपयुक्त भएको ठहर गरेको थियो । 

यस्तै स्थानीय तह निर्वाचनअघि गृहजिल्ला डडेल्धुरा पुगेका तत्कालिन प्रधानमन्त्री देउवाले पटकपटक मेडिकल कलेज स्थापना हुने ठोकुवा गरेका थिए । असार पहिलो साता सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि बोल्दै तत्कालिन कुलपतिसमेत रहेका देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना हुने ठोकुवा गरे ।

‘यसै वर्षदेखि सुदूरपश्चिम विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउँदैछौं,’ देउवाले भनेका थिए, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ । डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुन्छ ।’ 

माघमा मन्त्रिपरिषद् बैठकले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनको निर्णय गरेको थियो । त्यसको प्रस्ताव स्वास्थ्य मन्त्रालयले लगेको थियो । तत्कालिन स्वास्थ्यमन्त्री विरोध खतिवडाले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजान पटकपटक अस्विकार गरेका थिए । पछि प्रधानमन्त्री देउवाले नै आग्रह गरेपछि मेडिकल कलेजको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर निर्णय भएको चर्चा डडेल्धुरामा छ ।  अहिले आएर मेडिकल कलेजमा पढाइ सुरु भएसंगै उपचारका लागि बिरामी रेफर गरेर पठाउने डडेल्धुराले अब छिट्टै डाक्टर उत्पादन गरेर पठाउने आशा गर्न थालिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update