Paschim Express
डडेल्धुरामा फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान

डडेल्धुरा । डडेल्धुरामा फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले जिल्ला सदरमुकाममा अभिमुखीकरण र बहस पैरवी गोष्ठी राख्दै अभियानबारे जानकारी दिएको हो ।

कार्यक्रममा कार्यालयका प्रमुख केशरबहादुर साउदका अनुसार फागुन १३ गतेदेखि १६ गतेसम्म दादुरा रुबेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको हो । `डडेल्धुरामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप दिने अभियान संचालन गर्दैछौं,´ उनले भने, `जिल्लामा ११ हजार ८२३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।´

नियमित खोप सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र र स्वास्थ्य संस्था गरि एक सय ८० वटा खोप केन्द्रबाट खोप प्रदान गरिने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । सबै खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका खटाइएको कार्यालयले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गगन भण्डारीले खोपका विषयमा सकारात्मक सन्देश प्रवाह गर्नसके अभियान सफल हुने बताए । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले खोप अभियानलाई सफल पार्नका लागि सबैले लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तीन वटै सुरक्षा निकायका प्रमुख, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । दादुरा-रुबेला रोगबाट एकजना संक्रमितले १८ जनासम्मलाई संक्रमण गर्न सक्छ । सन् ०२६ सम्म दादुरा निवारण गर्ने लक्ष्य नेपाल सरकारको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update