डडेल्धुरा । सुत्केरी व्यथा लागेपछि तीन दिनअघि डडेल्धुरा अस्पताल पुगेकी गन्यापधुरा गाउँपालिकाकी मनीषा बोहरालाई प्रसव पीडाले च्यापिरहेको थियो । हुन त बोहरालाई सुत्केरी व्यथाको पीडाबारे गाउँलेले धेरैपटक सुनाइसकेका थिए ।
प्रसव पीडाका कारण धेरै गर्भवती महिलाको आङ नै सिरिङ्ग हुन्छ भन्ने उनले सुनेकी थिइन । धेरैवटा हड्डी एकैपटक भाँचिएको जस्तो हुन्छ पनि भन्थे गाउँका महिलाहरु । तर, बोहरा भने पहिलो बच्चालाई जन्म दिन डडेल्धुरा अस्पताल पुगेकी थिइन ।
अस्पताल पुगेपछि डडेल्धुरा अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरुले ‘पेनलेस डेलिभरी’ गराउन बोहरालाई सुझाव दिए । उक्त प्रविधिलाई ‘एपिड्युरल एनेस्थेसिया’ भनिन्छ । सोही प्रविधिबाट बोहराको बच्चालाई जन्म दिनका लागि डडेल्धुरा अस्पतालमा एनेस्थेसियोलोजिस्ट डा. रोमन कार्की र प्रसुती रोग विशेषज्ञ डा. स्मृति शाहीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
शुक्रबार बोहराले प्रसूति पीडा वीना नै सहज विधिबाटै बच्चा जन्माएकी छिन् । ‘एपिड्युरल एनेस्थेसियामार्फत बच्चा जन्माउँदा निकै सहज हुने रहेछ,’ बोहराले भनिन्, ‘प्रसव पीडा नै नहुने रहेछ । अन्य महिलालाई पनि यो प्रविधि प्रयोग गर्न आग्रह गर्दछु ।’
‘पेनलेस डेलिभरीबाट बच्चा जन्माउँदा आमाले सहनुपर्ने पीडा कम हुन्छ,’ डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. कार्कीले भने, ‘पेनलेस डेलिभरीमा एपिड्युरल एनेस्थेसियाका माध्यमबाट बच्चा जन्माउने गरिन्छ । यस्तो डेलिभरीका माध्यमले सहनुपर्ने १७–१८ घन्टाको पीडा टर्छ । यसका लागि मेरुदण्डको बीचबाट इन्जेक्सन दिइन्छ । यस्तो इन्जेक्सनले शरीर चल्छ तर दुख्दैन ।’
उनका अनुसार यस प्रविधिमा एकपटक सुई दिएर डेलिभरी नहुन्जेलसम्म त्यहीं क्याथेटर राखिन्छ र त्यसमा औषधि थपिरहन सकिन्छ । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार बिहीबार र शुक्रबार गरेर पीडारहित प्रसव अर्थात एपिड्युरल एनेस्थेसियामार्फत डडेल्धुरा अस्पतालमा दुई महिलाले बच्चा जन्माइसकेका छन् ।
बिहीबार पहिलोपटक परशुराम नगरपालिकाकी मिना गिरीको पनि सोही प्रविधिबाट बच्चा जन्माएकी थिइन । एपिड्युरल एनेस्थेसिया गर्दा शल्यक्रिया नगरी बच्चालाई जन्म दिने गरिन्छ ।