Paschim Express
सुदूरपश्चिमकै महत्वपुर्व चैनपुर सेती जलविद्युतको 'अडिट टनेल' निर्माण सुरु

बझाङ — सुदूरपश्चिम प्रदेशको गेम चेन्जर आयोजनाको रुपमा हेरिएको चैनपुर सेती जलविद्युत परियोजना मुख्य सुरुङ मार्गतर्फ जाने बाटो (अडिट टनेल) को निर्माणको काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय १० मेगावाट क्षमताको यो आयोजनाको मुख्य सुरुङमा जान निर्माण हुने तीन वटा अडिट टनेल मध्ये तलकोट गाउँपालिका–३ रुमाली गाडमा एउटा र बस्टीमा २ वटा रहनेछन् ।

अहिले रुमाली गाड र बस्टीको दुई वटा टनेल निर्माणको काम एकसाथ सुरु भएको हो । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले टनेल निर्माणको उद्घाटन गरेका हुन् ।

तीन मध्ये बस्टीगाउँको बस्तीनजिक रहेको अर्को सुरुङ भने स्थानीयले सिँचाई र रोजगारीको माग गर्दै विवाद गरेका कारण निर्माण गर्न ढिलाई भएको हो । स्थानीयको माग सम्बोधन हुने चरणमा रहेको र एक साताभित्र तीनै टनेलको काम सुरु भइसक्ने आयोजना प्रमुख अनिलभक्त श्रेष्ठले बताए ।

‘अर्को हप्ताबाट बस्टीको टनेलको पनि काम सुरु हुन्छ । पााच महिनाभित्र अडिट टनेलको सबै काम सम्पन्न गर्न पूर्ण क्षमतामा काम भैरहेको छ,’ उनले भने । विस्फोटक पदार्थ ढिलो उपलब्ध भएकोले बल्ल काम सुरु भए पनि समयमै सम्पन्न हुने दाबी गर्दैउनले तीनै टनेलको लम्बाई एक किलोमिटर हुने बताए ।

यो आयोजना निर्माणका लागि प्राधिकरणले एक सय ३२ रोपनी जग्गा अधिकरण गरेको छ भने थप १५ रोपनी अधिकरणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । यसअघि नै विद्युतगृह जाने बाटो २.४ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ । यही महिनाभित्र कार्यालय तथा आवासीय भवनहरु निर्माणका लागि बोलपत्र आव्हान गर्ने तयारी भइरहेको आयोजना कार्यालयको भनाइ छ ।

करिब ४५ अर्ब लागत अनुमान गरिएको यो आयोजनाका लागि लगानी जुटाउन प्राधिकरण अहिले जलविद्युत लगानी तथा विकास कम्पनी र अन्य वित्तिय संस्थाहरुसँग क्रृण सम्झौताका लागि पनि छलफल गरिरहेको छ । आयोजना निर्माणका लागि प्रारम्भिक वातावरीणय अध्ययन स्वीकृत भइसकेको छ भने भौर्गभिक अवस्थाको विश्लेष्ण (जियो टेक्निकल एनालाइसिस) पनि सम्पन्न भइसकेको छ ।

आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना अर्ध जलायशययुक्त हुने छ । आयोजनाको जलाशय साइपाल गाउँपालिकाको काँडागाउँनजिक पर्ने सेती र घाटगंगा नदीको दोभाननजिक निर्माण हुने छ । जलाशयको पानी १३ किलोमिटर लामो सुरुङमामार्फत तलकोट गाउँपालिकाको बस्टीमा खसालिने छ ।

तलकोटको बस्टीगाउँनजिक आयोजनाको विद्युतगृह रहने छ । आयोजनाको बाँध र विद्युत गृह निर्माण क्षेत्रमा मानवबस्ती नभएका कारण बस्ती पुर्नस्थापनालगायतका झन्झट नहुने भएकोले आयोजना तोकिएकै समयमा सम्पन्न हुने प्राधिकरणको दाबी छ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तरगत निर्माण हुन लागेको यो आयोजनामा संघीय, प्रदेश, स्थानीय सरकारसँगै प्रभावित क्षेत्रका बासिन्दा र मुलुकभरका सर्वसाधारणको लगानी रहने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update