Paschim Express
सुदूरपश्चिम सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अगाडि बढेको छ : मन्त्री देउवा

डडेल्धुरा । सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रुपमा अगाडि बढेको बताएका छन् । परशुराम नगरपालिकाले आयोजना गरेको ‘नगरस्तरी चौथो मेयर, उपमेयर कप भलिबल तथा प्रथम पुरुष मेयर कप क्रिकेट प्रतियोगिता २०८०’ को समापन समारोहमा बोल्दै प्रमुख अतिथिसमेत रहेका मन्त्री देउवाले यस्तो बताएका हुन् ।

`सुदूरपश्चिम प्रदेश खेलकुदका लागि निकै उर्बर भुमी हो,´ उनले भने, `खेलकुद र खेलको बिकास  तथा बिस्तारका लागि तीन तहका सरकारले आवश्यक बजेट तथा खेल पूर्वाधार निर्माण गरि  खेलाडीलाई वर्ष भरी नै खेल खेल्ने वातावरण तयार गर्न आवश्यक छ । सुदूरपश्चिम  प्रदेश सरकारले  खेलकुदमा बजेट बिनियोजन गरि वर्ष भरी नै खेलाडीले खेल खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीय स्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनीति नै लिएको छ ।´

यस्तै, प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न अगाडि बढीरहेको उनको भनाई थियो । `हामीले बिद्यालयस्तर, पालिका, जिल्ला र प्रदेशस्तरमा व्यवस्थित खेल संरचना निर्माण गर्ने कार्य सुरु गरेका छौं,´ मन्त्री देउवाले थपे, `राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताले भौतिक पूर्वाधारमा लगानी बृद्धि हुने, वैदेशिक लगानी भित्र्याउन मदत पुग्ने र रोजगारी सिर्जना गर्ने अपेक्षा गरेका छौं ।´मन्त्री देउवाले परशुराम रंग मैदानलाई अझ व्यवस्थित बनाउनका लागि डीपिआर निर्माण गरि ल्याएमा आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । अर्को प्रसङ्गमा बोल्दै मन्त्री देउवाले राजनीतिक, प्रशासनिक र पहुँचको दृष्टिकोणमा डडेलधुरा जिल्ला निकै महत्वपूर्ण रहेको बताए ।

`नेपाली काँग्रेसका पार्टी सभापती तथा  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कृषि समितिका सभापति डा. आरजु राणा देउवा डडेल्धुरा जिल्लाको विकास, समृद्धि र यहाँका जनताको रोजगारी लगायत शिक्षा, स्वास्थ, जिबिकोपार्जन जस्ता महत्वपूर्ण बिकास आयोजनाका लागि निरन्तर लागिरहनु भएको छ,´ उनले थपे, `उहाँहरुका कारण आज डडेल्धुरारा जिल्लामा संघ र प्रदेश सरकारबाट सडक, पुल, तटबन्धन, कृषि, खानेपानी, सिचाई,  शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगारी र आयआर्जनका  दर्जनौं क्रमागत, बहुबर्षिय विकासका आयोजना संचालन रहेका छन् ।´

यस्तै, परशुराम नगरस्तरीय प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले जितेको छ । परशुराम रंग मैदानमा भएको फाइनल खेलमा लटिनाथ मोबाइल ग्यालरीलाई १० विकेटले पराजित गर्दै परशुराम नगरपालिका वडा नम्बर ६ ले उपाधि जितेको हो । उपाधिसंगै वडा नम्बर ६ ले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको लटिनाथ मोबाइल ग्यालरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

टस जितेर ब्याटिङ गरेको लटिनाथ मोबाइल ग्यालरीले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसका लागि अरुणप्रकाश दानीले ४८ रन बनाए । ९४ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको वडा नम्बर ६ ले १२ ओभरमा विना विकेटको क्षति लक्ष्य भेटायो । उसका लागि इश्वर जाग्रीले ४८ र यसकुमार कठायतले ३६ रनको अविजित पारी खेले । प्लेयर अफ द म्याच परशुराम नगरपालिका वडा नम्बर ६ का इश्वर जाग्री भए । 

वडा नम्बर ६ का अध्यक्षसमेत रहेका प्रतियोगिताका संयोजक खगेन्द्रबहादुर सिंहका अनुसार माघ ६ गतेको कार्यापालिका बैठकले गरेको निर्णयअनुसार चौथो मेयर-उपमेयर कप पुरुष तथा महिला भलिबल तथा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता ३ गतेदेखि सुरु भएको हो । सोमबार सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री देउवाको प्रमुख आतिथ्यता तथा मेयर भरत बडायर जोशीको अध्यक्षतामा समापन कार्यक्रम भएको हो । भलिबलको फाइनल खेल भने मंगलबार हुनेछ । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update