Paschim Express
डडेल्धुराको परशुराममा मेयर–उपमेयर कप भलिबल तथा क्रिकेट प्रतियोगिता सम्पन्न

डडेल्धुरा । डडेल्धुरामा मेयर-उपमेयर कप भलिबल तथा मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । परशुराम नगरपालिकाको आयोजनामा ३ गतेदेखि सुरु भएको चौथो मेयर-उपमेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता र प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो । 

पुरुषतर्फ भलिबल प्रतियोगिताको उपाधि जेबी एकीकृत पशुपन्छी फर्म कटालले जितेको छ । मंगलबार भएको फाइनलमा परशुराम नगरपालिका वडा नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्दै जेबीले उपाधि जितेको हो । उसले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको १ नम्बर वडाले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको इच्छा किराना तथा चाहना मेडिकलले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको परशुराम नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षसमेत रहेका प्रतियोगिताका संयोजक खगेन्द्र सिंहले जानकारी दिए । 

सिंहका अनुसार महिला भलिबलतर्फ त्रिवेणी बहुमुखी क्याम्पस प्रथम र भागेश्वर मावि कटाल दोस्रो भएको छ । शैलेश्वरी मावि तेस्रो भएको छ । प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको सिंहले जानकारी दिए । 

पहिलो मेयर कप क्रिकेट प्रतियोगिताको फाइनल भने सोमबार नै सम्पन्न भइसकेको थियो । जसको उपाधि परशुराम नगरपालिका वडा नम्बर ६ ले जितेको थियो । फाइनलमा ६ नम्बर वडाले लटिनाथ मोबाइल ग्यालरीलाई १० विकेटले पराजित गरेको थियो । विजेटा ६ नम्बर वडाको टिमले नगद एक लाख तथा उपविजेता बनेलो मोबाइल ग्यालरीको टिमले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । 

परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले मंगलबार विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको जानकारी दिए । मेयर जोशीका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छ्नोट गरेर भलिबलमा महिला र पुरुष तथा क्रिकेटमा पुरुषको नगरस्तरीय टिम घोषणा गरिने छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update