Paschim Express
करोडौं रकम ठगी गर्ने शिव शिखर डडेल्धुरा र डोटीको कार्यालय सिल, अब के हुन्छ ?

डडेल्धुरा । बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको डडेल्धुरा र डोटी शाखा सिल गरिएको छ । दुवै जिल्लाका प्रशासन कार्यालयले सहकारीको अफिसमा ताला लगाएका हुन् । डडेल्धुरा शाखामा बिहीबार र डोटीमा शुक्रबार सिल गरिएको जनाइएको छ । 

शिव शिखरले गरेको घोटालाका बारेमा सहकारी विभागले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा संस्थाका बारेमा प्रतिवेदन पेश गरेको थियो । त्यसकै आधारमा मन्त्रालय अन्तर्गतकै  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका सबै कार्यालय सिल गर्न भन्दै गरेको परिपत्रका आधारमा डडेल्धुरा र डोटीका कार्यालय सिल गरिएका हुन् । 

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको थियो । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी पेश गरिसकेका छन् । 

सुदूरपश्चिम प्रदेशबाट मात्र यो सहकारीले एक अर्ब ५० करोडभन्दा बढी निक्षेप सङ्कलन गरेको बताइएको छ । सङ्कलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ ।

१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परिसकेका छन् । उनीमाथि ३५ जिल्लामा एकीकृत संस्थाको कार्यक्षेत्र फैलाएर घोटाला गरेको आरोप छ । 

कार्यालयमा सिल लगाएपछि अब के गर्छ समितिले ?
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीको देशभर रहेका शाखामा सिल लगाएपछि थप अनुसन्धान गर्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकिय अधिकृत जितेन्द्र ओझाले जानकारी दिए । ‘अब समिति अन्र्तगतका प्रतिनिधि आएर कार्यालयका सामानको लगत संकलन गर्ने कार्य गर्छन् । देशभर ३५ शाखा भएकाले त्यसमा समय लाग्ने देखिन्छ’ उनले भने ।

सञ्चालक तथा सहकारीको सबै सम्पत्तिको लगत तयार गरेपछि सोही समितिले बचतकर्ताहरुको रकम फिर्ता गराउने कार्य गर्ने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update