कञ्चनपुर । कञ्चनपुरमा कुकुरबाट चार लाख मूल्य बढीका कुखुरा मारिएका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका कुकुरले चार लाख मूल्य बढीका कुखुरा मारेको हो ।
बिहिवार बिहान फार्मको तारजाली तोडेर भित्र पसेको कुकुरको हुलले अण्डा दिने लेयर्स जातका ६ सय कुखुरा मारिदिएको छ । सय बढी कुखुरा घाइते छन् । ‘बैँकबाट १२ लाख बढी कर्जा निकालेर एक हजार दुई सय अण्डा दिने कुखुरा पालेका थियौँ’, फार्म सञ्चालक आशाले भनिन, ‘दैनिक कुखुराले चार पेटी जति अण्डा दिँदै आएका थिए, भुस्याहा कुकुर फार्मभित्र छिरेर कुखुरा मारिदिएपछि निकै ठुलो नोक्सानी ब्यहोर्न बाध्य भएका छौँ ।’
फार्ममा पाँच सय जति कुखुरामात्रै बाँकी रहेको उनले बताइन। फार्मभित्र कुकुरले कुखुरा मारेर खान थालेपछि कुखुराको आवाज सुनी कुकुरलाई भगाउन सकिएको उनले बताइन। वडाध्यक्षको रोहवरमा प्रहरी मुचुल्का तयार गरिएको उनले बताइन । नगरपालिका क्षेत्रमा भुस्याहा कुकुर नियन्त्रण नहुँदा किसानले निकै सास्ती खेप्नुपरेको स्थानीय जयबहादुर ऐरले बताए ।
‘पोल्ट्री फार्मभित्रै छिरेर आज ठूलो सङ्ख्यामा कुखुरा मारिदिए, बाटो हिँडने व्यक्तिाई पनि झम्टिने गरेको छ’, उनले भने, ‘धेरै व्यक्तिलाई टोक्दा रेबिजको खोप लगाइरहेका छन् ।’ नगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण गरिदिनुपर्ने उनको माग छ । कुखुरा फार्म सञ्चालकले सम्बन्धित निकायलाई क्षतिपूर्तिको व्यवस्था गरिदिनका लागि पनि आग्रह गरेका छन् ।