Paschim Express
डडेल्धुरा महोत्सव फागुन २४ गतेदेखि, यस्ता छन् आकर्षण

डडेल्धुरा । छैटौं संस्करणको डडेल्धुरा महोत्सव फागुन २४ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन, कला, संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैटौं डडेल्धुरा महोत्सव फागुन २४ गतेदेखि चैत ४ गतेसम्म सञ्चालन हुने भएको हो ।

आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै “डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार : कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार ” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुने जानकारी दिएको छ । संघका कार्यबाहक अध्यक्ष दीपकबहादुर महताले यसपटकको महोत्सवमा विभिन्न किसिमका आकर्षणहरु रहेको जानकारी दिए ।

`स्थानीय कला, संस्कृतिसंगै पुरातात्विक क्षेत्रको प्रदर्शनी पनि महोत्सवमा हुनेछ,´ संघका कार्यबाहक अध्यक्ष महताले भने, `स्थानीयसंगै राष्ट्रिय कलाकारको प्रस्तुतीसहित सांस्कृतिक कार्यक्रमको पनि महोत्सवमा सञ्चालन हुनेछन् । स्थानीय उत्पादनसंगै कृषि उपजको प्रदर्शनी पनि राखिने छ भने रमाइलो मेला पनि महोत्सवमा हुनेछ ।´

महोत्सवमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि हुने महताले बताए । `खुला पुरुष डेउडा प्रतियोगिता र महिला तथा पुरुष दोहोरी पनि आयोजना हुने छ,´ उनले भने । महताले महोत्सवमा फोटो प्रदर्शनी पनि हुने जानकारी दिए ।

उनका अनुसार महोत्सव आयोजना गर्दा झण्डै ८० लाख  ५० हजार खर्च हुने अनुमान गरिएको छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सव आयोजना गर्नका लागि मूल आयोजक समितिसंगै विभिन्न उपसमिति पनि गठन गरिएको छ । डडेल्धुरा महोत्सवमार्फत कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरणसंगै पर्यटन प्रवद्धन र डडेल्धुराको समग्र विकासको आधार खडा गर्ने उद्येश्य राखिएको संघका कार्यबाहक अध्यक्ष महताले बताए ।

यस्तै महोत्सवमा टिकटबाट संकलन भएको रकमको ५ प्रतिशत डडेल्धुरामा क्रिकेट मैदान निर्माणका लागि सहयोग गरिने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ ।

टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ भने ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा क र ख वर्गका अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क निशुल्क हुने बताइएको छ । महोत्सव जिल्ला सदरमुकामको टुडिखेल मैदानमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update