Paschim Express
बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

कञ्चनपुर । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ ।

मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए ।

उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए ।

आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । 

तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन ।

निर्देशक शेर्पाका अनुसार उन्नाइस किलोमिटर नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेतीसम्म सात हजार दुई सय रूख कटान गर्नुपर्ने छ तर त्यसको अनुमति वन विभागले अहिलेसम्म दिएको छैन ।
    
डेढ दशकसम्म पनि आयोजनाको काम पूरा नहुँदा स्थानीय किसान खिन्न छन् ।

“सिँचाइ सुविधा उपलब्ध हुने स्थानमा किसानहरुले बोरिङबाट सिँचाइ गरिरहेका छन् ।” स्थानीय विसन दत्त जोशीले भने–“आयोजना लामो समयसम्म पनि निर्माण हुन नसक्दा  लागत पनि बढ्दै गएको छ ।”

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले आयोजनाको मूल नहर नै जीर्ण हुँदै गएकाले सरकारले आयोजनाको काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले आयोजनाका समस्या समाधान गरेर सरकारले किसानका खेतमा पानी पुर्याउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update