Paschim Express
दार्चुलाका गाउँबस्तीमा विद्युतीकरणको काम धमाधम 

दार्चुला । दार्चुला जिल्लाको प्रत्येक गाउँबस्तीमा विद्युतीकरणको काम धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि विद्युत् परियोजना सञ्चालन गरी जिल्लाभरि विद्युतीकरणको काम थालेको हो । 

प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौ वटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको वितरण केन्द्रका प्रमुख आनन्द सापकोटाले बताए ।  

करिब २८ हजार घरपरिवार बसोबास रहेको यस जिल्लामा १८ हजार ९६५ प्रतिशत० घरधुरीमा बिजुली बलेको जानकारी उहाँले दिनुभयो । गत वर्ष तीन हजार पाँच सय ग्राहक थपिएकामा चालु आवमा एक हजार दुई सय घरधुरीमा विद्युतीकरण भइसकेको छ । 

यो वर्ष वितरण केन्द्रमार्फत पुरानो लाइन सुधार गर्न लामो स्पान भएको ठाउँमा ८८ पोल मेनलाइन र ८० पोल शाखा लाइन थप्नका लागि टेन्डर गरिएको केन्द्रले जनाएको छ । दुई वर्षभित्र जिल्लाभर विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ गत असारदेखि विद्युत् प्रोजेक्ट परियोजनाले काम थालेको हो । 

“सबै पालिकामा पोल गाड्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “किम्तडी, ठुलसैन, लटिनाथलगायत स्थानमा विद्युत् सामग्री पु¥याइएको छ । चालु आवको छ महिनामा ३७ किलोमिटर लामो ११ केभी प्रसारण लाइनमा तार बिछ्याउने कार्य गरिएको छ ।” 

२४ वटा नयाँ ट्रान्सफर्मर राखी उपभोक्ताको मिटरसम्म जडान गर्न १९ किलोमिटर शाखा लाइन पनि विस्तार गरिएको छ । हालसम्म २१५ ट्रान्सफर्मर जडान गरी १८ हजारभन्दा बढी घरमा विद्युत् वितरण गरिएको वितरण केन्द्रका प्रमुख सापकोटाले बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update