Paschim Express
डडेल्धुराको गन्यापधुरामा कोल्ड स्टोर सञ्चालन

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा निर्माण भएको कोल्ड स्टोर (शीत भण्डार गृह) को उद्धाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित पारीखेतमा निर्माण गरिएको कोल्ड स्टोरको सोमबार एक कार्यक्रमका बीच उद्धाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले रिवन काटेर स्टोरको उद्धाटन गरेका हुन् । 

कार्यक्रममा अध्यक्ष कार्कीले किसानहरुले उत्पादन गरेका उपज भण्डारण गर्नका लागि स्थापना गरिएको स्टोर प्रभावकारी रुपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे । ‘पछिल्लो समय गन्यापधुराका किसान तरकारी खेतीमा सक्रिय भएर लागेका छन्,’ उनले भने, ‘उनीहरुको सहजताका लागि कोल्ड स्टोर बनाएको छ । यो पालिकाको स्टोर हो भनेर नभई हाम्रै हो भनेर किसानहरुले उपभोग गर्नेछन् भन्ने विश्वास छ ।’ 

कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मनोज देउवाले कोल्ड स्टोरको प्रयोगमा ल्याएर फाइदा लिन किसानहरुलाई आग्रह गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङका अनुसार पालिकाको ४६ लाखको लागतमा कोल्ड स्टोर निर्माण गरिएको हो । कोल्ड स्टोरमा एक हजार क्वीन्टल कृषि उपज भण्डार गर्ने क्षमता छ ।

कोल्ड स्टोरमा एक सिजनका लागि कृषि उपज भण्डारण गर्दा प्रतिकिलो चार रुपैयाँ भाडा तोकिएको छ । यस्तै उद्धाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेठी देउवा, सिँचाई डिभिजन कार्यालय डडेल्धुराका प्रमुख रामरथ खरेल लगायतको पनि उपस्थिति रहेको थियो ।

गन्यापधुरा गाउँपालिकाको पहिलो कोल्ड स्टोर सञ्चालनमा आएपछि स्थानीय किसानहरु खुसी छन् । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डार आवश्यक देखिएपछि स्टोर स्थापना गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update