Paschim Express
कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत फेला, हत्याको आशंका

कञ्चनपुर । कञ्चनपुरमा नहरमा युवककाे शव भेटिएको छ । मृत भेटिनेमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट रहेको छन् ।

बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा आज (मंगलबार) बिहान भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए । उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो । उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो । 

उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो । उनी फेला परेका थिएनन् । तर, आज महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको डीएसपी डाँगीले जानकारी दिए ।

पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए। उनी आफन्तको बिहेका लागि घर आएका हुन् ।

त्यसअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन्। उनीहरूकी २ वर्षीया छोरी छन् ।

पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ। प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका-५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

महाकाली अस्पतालमा पोस्टमार्टम भैरहेको र थप अनुसन्धान भैरहेको डीएसपी डाँगीले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update