Paschim Express
धमाधम जिम्मेवारी खोसिन थालेपछि खगराज भन्छन् –राजनीतिक जीवन समाप्त पार्ने डिजाइन हो

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ ।

माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ ।

साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ । यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन् ।

उता खगराजले पनि आफ्नो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन भइरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया राख्दै उनले लेखेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ ।’

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update