Paschim Express
बझाङ उपनिर्वाचन : कुन दलबाट को–को छन् दाबेदार ?

डडेल्धुरा । बझाङमा राजनीतिक माहोल तात्न थालेको छ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गराउने निर्णय गरेसँगै माहोल तात्न थालेको हो । 

बझाङ–१ बाट निर्वाचित प्रदेशसभा सदस्य तथा सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन गर्न लागिएको हो । १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत भएको छ । यस कार्यक्रमअन्तर्गत २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ । 

आयोगको निर्णयसँगै सुदूरपश्चिममा राजनीतिक दलहरु उपनिर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । उम्मेदवारको पहिचानसँगै चुनावी रणनीतिक योजनामा राजनीतिक दलहरु जुट्न थालेका हुन् । 

उपनिर्वाचनलाई लक्षित गर्दै एमालेले आफ्नो जिल्ला अधिवेशनलाई नै पछाडि सारेको छ । अघिल्लो प्रदेश सभा निर्वाचनमा बझाङ निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडा पराजित भएका थिए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सम्मिलित सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहसँग ओखेडा पराजित भएका थिए ।

एमालेभित्र पुनः अफिलाल ओखेडाको नाम चर्चामा छ । संविधानसभा सदस्यसमेत भइसकेका ओखेडा एमालेको केन्द्रीय सदस्य पनि हुन् । ओखेडासँगै एमाले बझाङ जिल्ला अध्यक्ष दमन भण्डारीको नाम पनि चर्चामा रहेको छ । 

अर्कोतिर सत्तारुढ गठबन्धनभित्र पनि आन्तरिक तयारी सुरु भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस जित सुनिश्चित गर्ने रणनीतिमा लागेको छ । कांग्रेसभित्र हाल दुई जनाको नाम चर्चामा छ । कांग्रेसका एक थरी नेता निधन भएका पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई अगाडि सार्नुपर्ने पक्षमा छन् । अर्कोथरी नेताहरु कांग्रेसको महासमिति सदस्य जगतप्रसाद जोशीलाई अगाडि सार्नुपर्ने पक्षमा देखिएका छन् ।

सत्तारुढ घटक माओवादी केन्द्रभित्र पछिल्लो समय गठबन्धन गरेर चुनावमा जाने वा एकल रुपमा जानेबारे बहस छेडिएको छ । संविधानसभा सदस्य तथा माओवादी केन्द्र सुदूरपश्चिम सचिव जनक बुढा माओवादी केन्द्रबाट उपनिर्वाचनमा आकांक्षी देखिएका छन् । 

माओवादीको जस्तै आन्तरिक विवाद र बहस एकीकृत समाजवादीमा पनि देखिएको छ । पार्टीको अस्तित्व जोगाउने वा अरुलाई बोकेर जाने भन्ने बहस एकीकृत समाजवादीभित्र देखिएको छ । उपनिर्वाचनमा समाजवादीका केन्द्रीय सदस्य एवं बझाङ इन्चार्ज दिलबहादुर सिंहले पनि उम्मेदवारीको आकांक्षा व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update