Paschim Express
सुदूरपश्चिमबाट कहाँ जाँदैछन् महिला र बालबालिका ? 

डडेल्धुरा । भारतसंग सीमा जोडिएका सुदूरपश्चिमका जिल्लाबाट पछिल्लोसमय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ ।  गएको तीन वर्षमा बैतडी, डडेल्धुरा, दार्चुला र कञ्चनपुरबाट हराएका सात सयभन्दा बढी महिलाहरु र बालबालिकाहरु छन् । 

कामको खोजीमा भारत जाने, बेचबिखनमा पर्ने र घरपरिवारबाट सम्पर्कविहीन हुनेमा अधिकांश महिलाहरु रहेका छन् । बैतडी प्रहरीकाअनुसार आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म जिल्लामा बेपत्ता भएकामध्ये दुई सय ४३ महिला तथा बालबालिका अझै फेला परेका छैनन् ।  

पूर्वमन्त्री तारा भट्टका अनुसार घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्ने लगायतका कारणले महिला हराउने गरेका छन् । ‘एकै जिल्लामा धेरै महिलाहरु हराउनु दुभाग्य हो,’ उनले भनिनन्, ‘यस्ता कुराहरु महिलाहरु आँफै सचेत र सजग हुनु जरुरी छ ।’ 
सीमावर्ती बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरबाट महिला र बालबालिकाहरु हराउने क्रम नरोकिएको बैतडी प्रहरी प्रमुख दिपक गिरीले बताए । ‘सीमावर्ती क्षेत्रबाट हराउने महिलाहरु बेचबिखनमा पर्ने, घरेलु काममा बस्ने र कमजोर मानसिकता तथा शारिरीक शोषणमा पर्ने गरेका कारण हराउने क्रम रोकिएको छैन,’ उनले भने । 

उता कञ्चनपुरबाट पनि तीन वर्षमा ठुलो संख्यामा महिलाहरु हराएका छन् । जिल्लामा पछिल्लो तीन वर्षमा एक हजार सात जना महिला तथा बालबालिका हराएका छन् । उनीहरुमध्ये सात सय ७१ जना भने फेला परेका छन् । 

आर्थिक बर्ष २०७८/०७९ देखि हालसम्म २ सय ३६ जना महिला र बालबालिकाहरु अहिलेसम्म फेला परेका छैनन् । हराउनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी निरिक्षक बिनु शाहीले बताइन् । ‘भारतीय नागरिकसंग विवाह गरेका धेरै महिलाहरु सम्पर्कबाहिर रहेको प्रहरीमा उजुरी पर्ने गरेका छन्,’ शाहीले भनिन् । 

डडेल्धुरामा चालू आर्थिक वर्षमा बालक १५, बालिका २३ र महिला ४१ गरी ७९ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुमध्ये ७३ जना फेला परेका छन् भने ६ जना अझै सम्पर्कमा आएका छैनन् । अघिल्लो आर्थिक वर्षमा ९६ जना जिल्लाबाट बेपत्ता भएका थिए । 

ग्रामिण क्षेत्रबाट हराएका धेरै महिलाहरुको तथ्याङ्क प्रहरीमा पुग्ने गरेको छैन । कामको खोजीका लागि भारत छिरेका महिलाहरु पनि धेरै सम्पर्कबाहिर हुने गरेको छन् । नेपाल प्रहरीसंग हराएका महिलाहरु खोज्ने अन्तरदेशीय संयन्त्र बलियो नभएका कारण पनि बेपत्ताको संख्या बढीरहेको छ । सहजै रुपमा सीमापारी आवतजावत गर्न सकिने भएका कारण पनि धेरै महिलाहरु हराउने गरेका छन् । 

429050311_923054736212418_647679758043420224_n-1709275944.jpgकञ्चनपुरमा महिला तथा बालबालिका बेपत्ता र खोजीको तथ्यांक

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update