Paschim Express
डडेल्धुराको गन्यापधुरामा उत्खनन् गर्दा भेटियो सयौं वर्ष पुरानो ‘देउधारा’, संरक्षण थालियो

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरामा सयौं वर्षदेखि लोपोन्मुख ‘देउधारा’ संरक्षण गर्न थालिएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा पुरानो शैलीको मुर्ति समेतको देउधारा भेटिएपछि संरक्षण गर्न थालिएको हो ।

सयौं वर्षदेखि माटोमा पुरिएको अवस्थामा रहेकोमा उत्खनन गरेर देउधाराको संरक्षण तथा सम्बद्र्धन गर्न सुरु गरिएको वडा अध्यक्ष नरेशकुमार भट्टले जानकारी दिए । जमिनको माथिल्लो सतहमा  मुर्ती जस्तो देखिन थालेपछि खन्दै जाँदा मुर्ती समेतको देउधारा भेटिएको वडा अध्यक्ष भट्टले बताए ।

चरा, लगायत देविदेवताका मुर्तीहरु कुदिएको र दुई वटा ढुँगेधारा समेतको देउधारा भेटिदा गाउँकै नागरिकलाई फरक र नयाँपनको आभाष भएको उनको भनाई छ । स्थानीय जानकारहरु भने वर्षाै पहिले उक्त क्षेत्रमा शिखर देवताको पूजा हुने समयमा एउटा धारामा पानी र अर्को धारामा जौं र तिल बग्ने गरेको बताउन थालेका छन् ।

यस्तै उक्त देउधारको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले पनि निरीक्षण गरेका छन् । सो क्रममा उनले संरक्षणका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update