Paschim Express
महाकाली करिडोरले जोड्दैछ गाउँ, दुई सय ५६ किलोमिटर ट्र्याक खोलियो

डडेल्धुरा । तत्कालिन महाकाली अञ्चलको समृद्धिसंग जोडिएको महाकाली करिडोर गाउँ–गाउँसम्म पुग्न थालेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा र बैतडी हुँदै दार्चुलाको तिंकर जोड्ने योजनाअनुसार निर्माण सुरु भएको करिडोरले सहरलाई गाउँसम्म जोड्न थालेको हो । करिडोरले डडेल्धुरा, बैतडी र दार्चुलाका विकट गाउँलाई सडकको पहुँचमा पुगाउन थालेको छ । 

महाकाली करिडोरका योजना प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार महाकाली करिडोरमार्फत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकर जोड्ने योजना छ । ‘ब्रह्मदेवदेखि तिंकरसम्म चार सय १३ किलोमिटर रहेकोमा ब्रह्मदेवदेखि दार्चुलाको तुसरपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोरको योजना कार्यालय र त्यहाँदेखि तिंकरसम्म ७९ किलोमिटर नेपाली सेनाले बनाउने जिम्मा पाएको छ,’ उनले भने । 

योजना कार्यालयले जिम्मा पाएको तीन सय ३४ किलोमिटरमध्ये दुई सय ४५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएको योजना प्रमुख जोशीले बताए । ‘३२ किलोमिटर दार्चुला र ५ किलोमिटर डडेल्धुरा गरि ३७ किलोमिटर कालोपत्रे गर्न एउट ठेक्का चालू छ,’ योजना प्रमुख जोशीले भने, ‘करिडोरमा ट्याक निर्माण, स्तरोन्नति र कालोपत्रे गरी २१ ठेक्का चालू अवस्थामा छन् ।’

उनका अनुसार योजना कार्यालयले तीन सय ३४ किलोमिटर सडक निर्माणको जिम्मा पाएकोमा अब ८९ किलोमिटर मात्रै ट्याक खोल्न बाँकी छ । यस्तै नेपाली सेनाले ७९ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएकोमा ११ किलोमिटर ट्याक निर्माणको काम सम्पन्न भएको छ । नेपाली सेना र योजना कार्यालयले गरेर जम्मा दुई सय ५६ किलोमिटर ट्याक खोलेका छन् ।

योजना कार्यालयका अनुसार चालू आर्थिक वर्षमा नै महाकाली करिडोर भएर डडेल्धुरादेखि कञ्चनपुरसम्म आवतजावत गर्न सकिने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ट्याक खोल्ने काम सम्पन्न भएसंगै करिडोरको डडेल्धुरा–कञ्चनपुर खण्डमा मोटर चलेको हो । करिडोरअन्तर्गत ब्रह्मदेवदेखि डडेल्धुराको करालीसम्म १५ किलोमिटर ट्याक खोल्ने जिम्मा दिवा÷शनिदेव जेभीले पाएको थियो । 

०७८ असार २८ गते ठेक्का सम्झौता भएकोमा सोमबार ट्याक खोल्ने काम सम्पन्न भएपछि मोटर चलेको हो । महाकाली करिडोरका योजना प्रमुख जोशीले १५ किलोमिटर ट्याक खोल्ने काम सम्पन्न भएसंगै अब ब्रह्मदेवदेखि डडेल्धुराको सिमल्टासम्म ३८ किलोमिटर सडकमा मोटर चलेको जानकारी दिए । 

उनका अनुसार महाकाली करिडोरअन्तर्गत डडेल्धुरामा मात्रै अझै ३१ किलोमिटर ट्याक खोल्न बाँकी छ । ‘भागेश्वर गाउँपालिका क्षेत्रमा ट्याक खोल्न बाँकी छ,’ योजना प्रमुख जोशीले पश्चिमएसक्प्रेसलाई भने, ‘सो क्षेत्रमा थुप्रै रुख छन् । मंसिरमा मात्रै हामी रुख कटानको आदेश पाएका छौं । अब काम अगाडि बढ्छ ।’ 

महाकाली करिडोर निर्माणका लागि गत आर्थिक वर्षमा ५४ करोड खर्च भएको थियो भने यो वर्ष संघीय सरकारले २९ करोड ६० लाख बजेट विनियोजन गरेको योजना कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update