Paschim Express
डडेल्धुरा सडक विस्तार : तेस्रो चरणमा मुआब्जा वितरणको प्रक्रिया जारी

डडेल्धुरा । डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन तेस्रो चरणमा मुआब्जा वितरणको प्रक्रिया जारी राखिएको छ । तेस्रो चरणमा मुआब्जा वितरण गर्नका लागि सरकारले २३ करोड रकम सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई उपलब्ध गराएपछि मुआब्जा वितरणको प्रक्रिया जारी राखिएको हो । 

महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा जिल्ला सदरमुकामको किर्तिपुरदेखि उग्रतारा मन्दिर गेटसम्मको सडक खण्डमा रहेका घर तथा जग्गा धनीलाई मुआब्जा दाबी गर्न जिल्ला प्रशासन कार्यालयले पुस २५ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो । किर्तिपुदेखि उग्रतारा मन्दिर जाने गेटसम्मको सडक खण्डमा रहेका एक सय ५३ जना घर तथा जग्गाधनीलाई सडक डिभिजन कार्यालय कुलपाते डोटीमा निवेदन दिएर मुआब्जा दाबी गर्नका लागि सूचनामा आग्रह गरिएको थियो ।

मुआब्जाका लागि २३ करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई प्राप्त भएपछि वितरणको प्रक्रिया अगाडि बढाइएकोमा निर्धारित समयमा एक सय ३७ जनाले मात्रै निवेदन दिएको कार्यालयका प्रमुख रमेश भट्टराईले जानकारी दिए । 

‘निर्धारित समयमा १६ जनाले निवेदन नदिएपछि फागुन ८ गते सात दिनभित्र निवेदन बुझाउनका लागि सूचना जारी गरेका थियौं,’ उनले भने, ‘उक्त अवधिमा पनि ७ जनाले मात्रै निवेदन दिएका छन् । बाँकी ९ जनाले अझै मुआब्जाका लागि निवेदन बुझाउन बाँकी छ ।’ मुआब्जा दाबी गर्न बाँकी ९ जना घर तथा जग्गाधनीलाई सम्पर्कमा ल्याउने काम भइरहेको भट्टराईले बताए । 

उनका अनुसार यसअघि मुआब्जाका लागि प्राप्त भएको ५० करोडमध्ये झण्डै ४२ करोड रकम घर तथा जग्गाधनीलाई वितरण गरिएको छ । पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ तीन सय मिटर दुरीमा रहेका एक सय ६ जना घर तथा जग्गा धनीलाई सबै मुआब्जा रकम वितरण गरिएको थियो । दोस्रो चरणमा दुई सय ८४ जनालाई पनि मुआब्जा वितरण गरिएको थियो । 

जिल्ला सदरमुकामको सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पनि जारी छ । जिल्ला सदरमुकाम बागबजारदेखि उग्रतारासम्म ३० मिटर चौडा सडक निर्माण गर्ने योजना छ । सडकको क्षेत्राधिकार खाली भएपछि सडक निर्माणका लागि ठेक्काको प्रक्रिया अगाडि बढ्ने सडक डिभिजन कार्यालय कुलपातेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update