Paschim Express
डडेल्धुरामा सुन चोरी, रौतहटबाट पक्राउ परे दुई जना

डडेल्धुरा । डडेल्धुरा जिल्लामा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका-४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र  सप्तरी दुहबी नगरपालिका ४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।

पक्राउ परेका दुबै जना आरोपीलाई डडेल्धुराबाट खटिएको इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए । इन्स्पेक्टर नायकका अनुसार डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित विजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राति ९ बजे २० ग्राम सुन चोरी भएको थियो ।

अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो । घटनाबारे अर्का आरोपी सुरेन्द्र विश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो । 

तर उनले प्रहरीलाई असहयोग गरेको कारण दुवैजनालाई पक्राउ गरिएको इन्स्पेक्टर नायकले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update