Paschim Express
सुदूरपश्चिममा सरकार विस्तारको कसरत, नाउपाले दियो ग्रीन सिग्नल

धनगढी । अल्पमतमा परेको सुदूरपश्चिम सरकार विस्तारको तयारी भएको छ । नेकपा (एकीकृत समाजवादी) बाहिरिएसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा झरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह बहुमत पुर्याउने प्रयत्नमा छन् ।
बिहीबार अबेर रातिसम्म नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राप्रपा, स्वतन्त्र सांसद तारा जोशीसहितको चार पक्षबिच छलफल चलेको थियो । छलफलमा नाउपाले ग्रीन सिग्नल दिइसकेपछि मुख्यमन्त्री शाह स्वतन्त्र सांसद जोशी र राप्रपाकी एक्लो सांसद खिमादेवी विष्टमा केन्द्रित भएका छन् । तर अन्तिम समयमा खिमादेबी विष्ट केन्द्रका निर्णय पर्खिने अडानमा बसेपछि मुख्यमन्त्री शाह रोकिएका हुन् ।
अझै प्रदेश सरकारमै रहेको नाउपासहित स्वतन्त्र सांसद जोशी र राप्रपाले सहयोग गरेको अवस्थामा मुख्यमन्त्री शाहलाई सुविधाजनक बहुमत पुग्छ । राप्रपा तयार भएको अवस्थामा आजै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस स्रोतले बतायो ।

उसो त मुख्यमन्त्री शाहले बिहीबार राति नै भए पनि मन्त्रिपरिषद् विस्तार गर्ने बताएपछि प्रदेश प्रमुख देवराज जोशीले आफ्नो निर्धारित कार्यक्रमस्थल अछाम नपुगी बाटोबाटै धनगढी फर्किएका थिए ।

समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन छ ।  नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र सांसद जोशी गरी २६ जना सांसदले उनलाई समर्थन गरेका छन् ।

यहाँ बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्ने हुँदा मुख्यमन्त्री शाह राप्रपा सांसदलाई साथमा लिन अन्तिम कसरतमा जुटेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update