Paschim Express
डडेल्धुरामा घटालथानको निर्माण अधुरै

डडेल्धुरा । नयाँ शैलीमा निर्माण गरिएसँगै स्वरूप परिवर्तन हुँदै गएको प्रसिद्ध धार्मिक पीठ घटालथानको भौतिक पूर्वाधार निर्माणको काम अधुरै रहेको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–३, गैरीडोटीमा अवस्थित घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थालेपछि स्वरूप परिवर्तन हुन थालेको थियो । 

बजेट अभावमा यस वर्षदेखि भने भौतिक पूर्वाधार निर्माको काम रोकिएको छ । डोटी खोलामा रहेको घटालथानको घटोत्चक बाबाको मूर्ति परिसरमा पर्खाल, थानको निर्माण, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोलामा आउजाउ गर्न पुल र सिँढी बाटो निर्माण गरिएको छ । 

त्यस्तै तलाउ निर्माणका लागि ड्याम, शवदाह स्थल, पिसिसी बाटो निर्माण गरिएको छ । नयाँ संरचना निर्माण कार्यले घटालथानको स्वरूप नै परिवर्तन भएको छ । बजेटको अभावमा पूर्ण रूपमा काम नहुँदा योजना अधुरो रहन पुगेको बताइएको छ । 

गत वर्षसम्म घटालथानमा अढाई करोड रुपियाँ बजेटमा भौतिक पूर्वाधारका संरचना निर्माण गरिएका थिए । एक करोड ४२ लाख रुपियाँको ठेक्का सम्झौता र बाँकी उपभोक्ता समितिमार्फत भौतिक पूर्वाधार निर्माणको काम भएको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले जानकारी दिए । 

ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको उहाँले बताउनुभयो । गत वर्ष दुई करोड चार लाख रुपियाँको लागतमा ठेक्का सम्झौतामार्फत भौतिक पूर्वाधार निर्माणको काम गरिएको छ । 

असारमा निर्माणको काम पूरा गर्ने गरी माया निर्माण सेवाले ड्याम र प्यारापिट निर्माण गर्ने काम गरेको छ । उनका अनुसार विश्व बैङ्क सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम भएको थियो । तर सो बजेटले योजना अनुसार काम पूर्ण रूपमा हुन सकेको छैन । डोटी खोलामा ड्याम लगाई कृत्रिम ताल बनाएर डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उनले भने, “केही ठाउँमा वाटर फाउन्टेन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो ।”

अधुरा रहेका काम पूरा गर्न सम्बन्धित मन्त्रालयसँग बजेटको माग भइरहेको नगर प्रमुख जोशीले बताए। घटालथान मात्रै नभई अमरगढी नगरमा अघि सारेका योजनामा बजेट हाल्न दैनिक जसो मन्त्रालय धाइरहेको उनले बताए ।गोरखापत्र

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update