Paschim Express
उमेर पुगेपछि बिहे गर्नेलाई जोरायल गाउँपालिकाले गर्‍यो सम्मान

डोटी । जोरायल गाउँपालिका–६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सोही वडाको सित्तोली माइती भइ बैतडीको मेलौली नगरपालिका–३ कुजागाड घर भएकी २६ वर्षीया कमला बोहराको जोडी रहेको वडा अध्यक्ष गणेशबहादुर बोहराले बताए । बोहरा दम्पतीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको थियो ।

दण्ड तथा सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराको विश्वास छ । वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update