Paschim Express
सुदूरपश्चिम सरकार : मन्त्रालय फुटाउने तयारी

धनगढी । नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ । मुख्यमन्त्री मन्त्री कमलबहादुर शाह प्रदेश सरकार जोगाउन प्रयत्नरत छन् । संसदमा बहुमत पुर्‍याउन अन्य दल तथा सांसदहरुलाई मनाउनदेखि लिएर रणनीतिक योजना बनाउने गृहकार्यमा मुख्यमन्त्री शाह जुटेका छन् ।

शुक्रबार रातिमात्रै मुख्यमन्त्री शाहले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीबाट ३ मन्त्री थपेका छन् । तर सत्ता जोगाउन मुख्यमन्त्री शाहलाई एक जना स्वतन्त्र सांसद तारा जोशी र राप्रपाकी एक्ली सांसद खिमा देवी बिष्टको साथ पनि अनिवार्य चाहिन्छ । त्यो अवस्थामा मुख्यमन्त्री शाहले सांसद जोशी र बिष्टलाई प्रभावशाली मन्त्रालय दिएर सरकारमा ल्याउन प्रयत्न गरिरहेका छन् । जसका लागि मुख्यमन्त्री शाहले मन्त्रालयलाई विभाजन गर्नेसम्मको गृहकार्य थालेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार स्वतन्त्र सांसद जोशीले आर्थिक मामिला मन्त्रालय दिनुपर्ने माग गरेका छन् । तर मुख्यमन्त्री शाहले सो मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई दिएका छन् । यसपछि सांसद जोशीलाई अन्य प्रभावशाली मन्त्रालय दिएर सत्ता जोगाउन मुख्यमन्त्री शाह प्रयत्नरत छन् ।

मुख्यमन्त्री शाहले यसअघि नेकपा माओवादी केन्द्रले सम्हाल्दै आएको सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन् । ती दुई वटा मन्त्रालय टुक्य्राउने तयारी छ । स्रोतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्य्राएर वन मन्त्रालय र उद्योग तथ पर्यटन मन्त्रालय बनाउने विषयमा छलफल चलिरहेको छ । यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालय बनाइने सम्मको छलफल थालिएको स्रोतको दाबी छ ।

सुदूरपश्चिममा १० वटा मन्त्रालय बनाउन सक्ने कानुनी प्रावधान छ । यहाँ बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update