Paschim Express
सुदूरपश्चिममा बढ्न थाल्यो अपराध, दुई हजार पीडितका उजुरी प्रहरीमा
प्रदेश प्रहरी कार्यालय धनगढी

धनगढी । सुदूरपश्चिम प्रदेशमा अपराध बढ्न थालेको छ । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा सुदूरपश्चिममा अपराधका दुई हजार घटना प्रहरीमा दर्ता भएका छन् ।

सो अवधिसम्म विभिन्न प्रकृतिका दुई हजारभन्दा बढी अपराधका घटना प्रहरीमा दर्ता भएको अभिलेख छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका घटना घटेका छन् ।

त्यस्तै, संगठित तथा आर्थिक अपराधका घटनाको संख्या पौने चार सय पुगेको छ। साथै देहत्यागत तथा ज्यानसम्बन्धी अपराधका घटना तीन सयभन्दा बढी दर्ता भएका छन् । 

प्रदेशका नौवटै जिल्लामा गरी विभिन्न प्रकृतिका दुई हजार १७ घटना घटेका छन्। सामाजिक अपराधका ४ सय ४०, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका २५२, भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी १६५, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी ८ तथा सार्वजनिक शान्ति विरुद्ध, नागरिकता र कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी समान ५/५ कसुर प्रहरीमा दर्ता छन् ।

प्रहरीमा सबैभन्दा बढी लागुऔषध मुद्दाको ३०५ उजुरी रहेको छ भने हातहतियार खरखजाना सम्बन्धी ११ तथा अपहरण वा शरीर बन्धक सम्बन्धी १ कसुरमा दर्ता भएको छ । सो अवधिसम्म देहत्यागतका ३२४ घटना दर्ता भएका छन् भने ज्यान सम्बन्धी कसुरका तीन सय घटना घटेको तथ्याङ्क छ ।

भवितव्य ज्यानका १३२, फुटकर ज्यानका ८५, ज्यान मार्ने उद्योग ४१, कर्तव्य ज्यान कसुरका २४, आत्महत्या गर्न दुरुत्साहन गरेको १५ तथा गर्भ संरक्षण विरुद्धको कसुरमा ३ घटना घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

महिला तथा बालबालिका सम्बन्धी १८६ घटना प्रहरीम दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका एक सय र जबरजस्ती करणी उद्योगका ३२ वटा घटना घटेका छन् ।

सवारी सम्बन्धी १०९, सवारी ज्यान ६६, सवारीबाट भवितव्य ३४ र सवारी अङ्गभङ्गका ७ वटा घटना घटेको पाइएको छ । यसका साथै चोरी सम्बन्धी ९९, साधारण चोरी ७५, नकबजनी चोरी १० तथा डाका चोरी र सवारी चोरी समान ७/७ घटना प्रहरीमा दर्ता भएका छन् ।

बहुविवाह ३७, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार र यौन दुराचारका समान ५/५ घटना घटेका छन् भने बाल यौन दुराचारका २ घटना प्रहरीमा दर्ता भएका छन् । प्रहरीले विविध अपराध शिर्षकमा १७४ घटना घटेको जनाएको छ। जसमा बैङ्किङ कसुरका सबभन्दा बढी १४३ घटना प्रहरीमा दर्ता भएका छन्।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update