Paschim Express
दार्चुलामा महाकाली तरेर थुनुवा पारी भागे, समात्न गएका प्रहरी लडेर अस्ताए

दार्चुला ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट एक थुनुवा भागेर भारततिर पुगेका छन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भागेका हुन् । उनी महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए ।

त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ ।

तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भिरबाट खसेका छन् । गम्भिर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । 

गत माघ ७ गते ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि चक्कु प्रहार गरेका कुँवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नै श्रीमती धनिषालाई बन्धक बनाएको उजुरीपछि सोधपुछका लागि जाने क्रममा उनले प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका थिए । 

कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्धकी, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update