Paschim Express
आगोसहितको ट्रक गुडाउँदै थिए चालक, फोटोग्राफरले देखेर रोक्न लगाए

काठमाडौं । सोमबार अपरान्ह्र लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रक विरगन्जबाट धनगढीतर्फ गइरहेको थियो । कञ्चनपुर घर भएका ३२ वर्षीय जगन्नाथ जोशीले बर्दियाको चेकपोष्ट कटेपछि कर्णाली पुलमा उक्त ट्रक गुडाइरहेका थिए ।

 ट्रक पछाडि भने आगो सल्किसकेको थियो । तर, उनी बेखबर भएकाले आनन्दसँग ट्रकलाई कैलाली प्रवेश गराइरहेका थिए । त्यो दृश्य पुलमा फोटो खिचेर कमाई गर्ने एक युवकले देखे । स्थानीय पत्रकार रमित पाण्डेका अनुसार उनै फोटोग्राफरले भनेपछि मात्रै ट्रक चालकले आगो सल्किएको भेउ पाएका थिए ।

त्यसपछि लगत्तै प्रहरीलाई खबर गरिएको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरिराम डाँगीको टोलीले ट्रकमा रहेका स्टाफहरुलाई सकुशल उद्धार गरेका थिए । तर, दमकल नभएकाले आगलागी भने नियन्त्रण हुन सकेन ।

केही छिनमा कैलालीको लम्कीचुहा नगरपालिकाको दमकल आएपछि आगो नियन्त्रणमा लिने प्रयास भएको थियो । निकै समयपछि दमकल, जेसीबी, प्रहरी र नेपाली सेनाको प्रयासबाट अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट ट्रक पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट पुलका लठ्ठासमेतमा क्षति भएको छ । सोही कारण सुरक्षाको दृष्टिकोणले अहिलेलाई पुलमा आवतजावत बन्द गरिएको छ । स्थानीय प्रहरीका अनुसार आगलागीबाट पुलमा भएको क्षतिको यकिन गर्न इन्जिनियरको टोली काठमाडौंबाट गइसकेको छ । उक्त टोलीले अनुगमन गरेपछि मात्रै पुल आवतजावतका लागि सुचारु हुने सम्भावना रहेको बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update