Paschim Express
सुदूरपश्चिम सरकारमा कैलालीको वर्चस्व, ७ सदस्यीय मन्त्रीपरिषद्मा कैलालीकै छन् ६ जना

धनगढी । सुदूरपश्चिम प्रदेशको विस्तारित मन्त्रीपरिषद्मा कैलाली जिल्लाका प्रदेशसभा सदस्यको वर्चस्व देखिएको छ । राजनीतिक उतारचढावसँगै प्रदेश मन्त्रीपरिषद्मा भएको फेरबदलमा कैलाली जनप्रतिनिधिको वर्चस्व रहेको छ ।

सात सदस्यीय मन्त्रीपरिषद्मा कैलालीका मात्रै छ जना छन् । यही शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गरेका थिए । नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका एक गरेर चार मन्त्रीलाई पदमुक्त गरेपछि उनले तीन मन्त्री नियुक्त गरेका थिए । नियुक्त गरिएका तीनै मन्त्री कैलालीकै हुन् । 

यसअघिको नौं सदस्यीय मन्त्रिमण्डलमा पनि कैलालीका पाँच र पहाडी जिल्लाबाट चार जनाको प्रतिनिधित्व रहेको थियो । आर्थिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट पहाडी जिल्ला बैतडीका हुन् ।

यस्तै तत्कालीन आर्थिक मामिलामन्त्री नरेशकुमार शाही बाजुरा, झपटबहादुर साउद अछाम र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गीतादेवी माल डडेलधुरा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

पछिल्लोपटक पुनर्गठित मन्त्रीपरिषद्मा भने आन्तरिक मामिला तथा कानुनमन्त्री भट्टबाहेक मुख्यमन्त्रीसहित सबै मन्त्री र राज्यमन्त्री कैलालीबाट प्रतिनिधित्व गर्छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update