Paschim Express
प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टीको दुईथरी विज्ञप्ति

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे दुुईथरी विज्ञप्ति आएको छ । श्रेष्ठ पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई ‘ह्विप’ लगाएको छ भने चौधरी पक्षले सरकारमा नगएर प्रतिपक्षमा बस्नुपर्ने धारणा सार्वजनिक गरेको छ ।

श्रेष्ठ पक्षले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, तर प्रदेश सरकारको हकमा वार्ता समितिले विभिन्न दलहरुसँग सहकार्य र समन्वय गरी सम्वाद अघि बढाउने भनेको छ । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीको भूमिका निर्णायक छ । प्रदेश सभामा नागरिक उन्मुक्तिका सात सांसद छन् । चौधरी पक्ष कांग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दै कमलबहादुर शाहलाई नै मुख्यमन्त्रीमा निरन्तरताको अडानमा छ ।

उन्मुक्तिका सातमध्ये पाँच जना सांसद प्रदेश सरकारमा मन्त्री भइसकेका छन् । अध्यक्ष श्रेष्ठले भने कांग्रेस नेतृत्वको सरकारलाई समर्थन नरहेको बताउँदै सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छिन् । तर उनको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update