Paschim Express
डडेल्धुराबाट उदाएका ‘आई हेल्थ हिरो’ डा. पन्त : जसले दुई लाख बढीको गरिसके शल्यक्रिया

डडेल्धुरा । उनको उमेर ६० वर्ष । ११ दिन अगाडि मात्रै ६० कटेका उनीसंग एक दिन र एक वर्षमा संसारमा सबैभन्दा बढी आँखाको शल्यक्रिया गरेको रेकर्ड छ । दिनमा तीन सय १२ जना र एक वर्षमा १६ हजारको शल्यक्रिया एक्लैले गरेका छन् उनले । एकैदिन र एक वर्षमा यति ठूलो संख्यामा आँखाको शल्यक्रिया गर्ने उनी एक्ला र पहिला डाक्टर हुन् । अर्थात्, यो अन्तर्राष्ट्रिय रेकर्ड हो । उनले अहिलेसम्म नेपालसहित विश्वका विभिन्न देशमा दुई लाख नागरिकको आँखाको शल्यक्रिया गरेका छन् । उनी अर्थात्, ‘आई हेल्थ हिरो’ वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. विद्याप्रसाद पन्त । 

०२० साल फागुन १९ गते बुवा चुडामणी पन्त र आमा जानकीदेवी पन्तका दोस्रो सन्तानका रुपमा उनको जन्म भएको हो । जन्मस्थल हो, डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकास्थित कारीगाँउ । एसएलसीसम्मको पढाई जिल्ला सदरमुकाममै रहेको महेन्द्र माविमा गरे । पन्त उच्च शिक्षाका लागि कञ्चनपुर झरे । सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भएका पन्तले क्याम्पसमा बढेको विवादका कारण पढाई अगाडि बढाउन सकेनन् । 

त्यसपछि पढाईकै लागि पन्तको गन्तव्य बन्यो काठमाडौं । ०४० सालमा उनले नेत्र सहायकको पढाई सुरु गरे । तीन वर्षमा पढाई सकिएपछि उनले गेटा आँखा अस्पतालमा नेत्र सहायकका रुपमा काम सुरु गरे । अस्पतालमा आउने बिरामीको अवस्था देखेर पन्त निराश हुन्थे । ‘त्यो समयमा गेटा आँखा अस्पतालमा वर्षको तीनदेखि चार महिनाका लागि नर्वेका चिकित्सक उपचारका लागि आउने गरेका थिए,’ पन्त त्यो समयलाई सम्झिदै भन्छन्, ‘दुरदराजबाट आएका बिरामीले सधैँ चिकित्सक भेट्न पाउनसक्ने अवस्था थिएन । पहाडी जिल्लाबाट पैदल हिँडेर आउने बिरामीले उपचार नपाएको देख्दा निकै घत लाग्थ्यो । सोही अवस्था देखेर चिकित्सक बन्ने र दुर्गममा सेवा गर्ने सोच पलाएको हो ।’

अनी पन्त अध्ययन गर्न रुस गए । छ वर्षको एमविविएस र तीन वर्षको एमडी गरेर ०५८ सालमा फिर्ता भए । त्यसको दुई वर्षपछि वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. पन्तले गेटा आँखा अस्पतालको निर्देशकको जिम्मेवारी पाए । डा. पन्तकै नेतृत्वमा गेटा आँखा अस्पतालले नेपालभित्र र विदेशमा पनि ख्याती कमायो । गेटा आँखा अस्पतालको गणना नेपालमै नमूना अस्पतालमा रुपमा हुन थाल्यो । उनकै कार्यकालमा गेटा आँखा अस्पताल आवश्यक पूर्वाधार सहितको अत्याधुनिक उपकरणले सुविधासम्पन्न अस्पताल बनेको हो ।  

उनले गेटासहित विभिन्न आँखा अस्पतालबाट सेवा दिएर धेरै आँखाका बिरामीको अध्यारो जिन्दगीमा उज्यालो छरेका छन् । अर्थात्, अध्यारोमा बाँचिरहेकाहरुलाई उज्यालो संसार देखाएका छन् । डा. पन्तले संसारका गरिब, अविकसित र विकासोन्मुख विभिन्न मुलुकमा पुगेर आँखाका बिरामीहरुको उपचार गरेका छन् । उनले नेपालबाहेक युगाण्डा, नाइजेरिया, म्यानमार, भारत, चिनका विभिन्न ग्रामिण तथा सहरी क्षेत्रका जनताको आँखाको शल्यक्रिया गरिसकेका छन् । 

उनले  अर्विस इन्टरनेशनलको निमन्त्रणामा फ्लाईङ्ग आई हस्पिटल (हवाई जहाजमै आँखाको अस्पताल) लागि नाइजर, नाइजेरिया, युगाण्डा र चिनमा समेत आँखाको शल्यक्रिया गरेका छन् । आँखाका बिरामीको उपचारकै लागि हाल म्यानमार (बर्मा)मा रहेका डा. पन्तले बुधबार टेलिफोनमा पश्चिमएक्सप्रेसलाई भने, ‘अहिलेसम्म आफ्नै हातले दुई लाख जनाको आँखाको शल्यक्रिया गरिसकेको छु । एक लाख ३० हजार नेपाली र अन्य ७० हजारको विभिन्न मुलुकमा गएर शल्यक्रिया गरेको छु ।’

डा पन्तलाई ‘आई हेल्थ हिरो’का नामले पनि चिनिन्छ । उनी ‘आई हेल्थ हिरो २०१७’ अवार्डबाट सम्मानित भएका छन् । विश्वभरि आँखा उपचारको क्षेत्रमा काम गर्नेहरु मध्येबाट डा. पन्तलाई द इन्टरनेशनल एजेन्सीज फर द प्रिभेन्सन एण्ड कन्ट्रोल अफ ब्लाइन्डेसन (आईएपीबी)ले सो अवार्डबाट सम्मान गरेको हो । आइएपीबी आँखा उपचारका क्षेत्रमा काम गर्ने संसारभरका सबै संस्थाहरुको छाता संगठन हो । यसबाहेक डा. पन्तले दर्जनौ ख्यातीप्राप्त सम्मान पनि पाइसकेका छन् । 

डा. पन्तकै नेतृत्वमा अहिले धनगढीमा नेत्रालय पनि सञ्चालन भइरहेको छ । यस्तै डा. पन्तले अहिले म्यानमारको टिसाङमा बन्द रहेको आँखा अस्पतालको पनि नेतृत्व गरेर सञ्चालन गरिरहेका छन् । पहिलो वर्षमै उक्त अस्पताल म्यानमारको सबैभन्दा बढी आँखाको अप्रशेन गर्ने अस्पताल बनेको थियो । 

डडेल्धुरासहित सुदूरपश्चिममा गर्दै आएका छन् समाजसेवा
डा. पन्तकै नेतृत्वमा च्यारिटी हेल्थ फाउण्डेसन सञ्चालनमा छ । फाउण्डेसनले सुदूरपश्चिममा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुका लागि सहुलियत दरमा  निशुल्क रुपमा शव वाहन सेवा सञ्चालज गरिरहेको छ । फाउन्डेसनले अमरगढी नगरपालिकालाई पनि शव वाहन हस्तान्तरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष डाक्टर पन्तले केही सयम अगाडि डडेल्धुरामा पुगेर नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेका थिए । शव वाहन हस्तान्तरण गर्दै डाक्टर पन्तले भनेका थिए, ‘सुदूरपश्चिमका पहाडी जिल्लामा शव वाहन नभएर समस्या भएकोले सहयोग गरिएको हो । डडेल्धुरासहित अन्य पहाडी जिल्लामा पनि अमरगढी नगरपालिका शव वाहनमार्फत सेवा दिनेमा विश्वास लागेको छ । सर्वसुलभ शुल्कमा सेवा दिनेछ भन्नेमा पनि म विश्वस्त छु ।’

No description available.

अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण गर्दै डा. पन्त । 

फाउण्डेसनले डडेल्धुराको नवदुर्गा र अजयमेरु गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको पन्तले बताए । ‘अजयमेरु र नवदुर्गामा सञ्चालन भइसकेको छ । अन्य पालिकामा पनि सञ्चालन गर्नका लागि सम्झौता भएको छ,’ पन्तले भने । यस्तै डा. पन्तले डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको महेन्द्र माविमा ‘चुडामणि जानकी शिक्षा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका छन् । विद्यालयका संस्थापकसमेत रहेका पन्तका बुवा चुडामणि पन्तले आफ्नो र श्रीमतीको नाममा ५ लाखको शिक्षा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन । ‘हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नका लागि ५ लाखको अक्षयकोष स्थापना गरेका हौं,’ डा. पन्तले भने । उनले हरेक वर्ष अक्षयकोषको रकम वृद्धि गर्दै जाने घोषणा पनि गरेका छन् । 

No description available.

महेन्द्र मािवमा ‘चुडामणि जानकी शिक्षा छात्रवृत्ति अक्षयकोष’को रकम हस्तान्तरण गर्दै विद्यालयका संस्थापकसमेत रहेका डा. पन्तका बुवा चुडामणि पन्त । अहिले पन्तको निधन भइसकेको छ । 


राणा शासनमा डा. पन्तका बुवाले डडेल्धुरामा बसालेका थिए शिक्षाको जग
००४ सालमा मुलुकमा राणाहरुको निरकुंश शासनका विरुद्ध आवाज जुर्मराउँदै थियो । सोही क्रममा डडेल्धुरामा खुल्यो आधार पाठशाला । जिल्लाकै पहिलो पाठशाला खोल्ने व्यक्ति मध्येका एक थिए, चुडामणी पन्त ( डा. पन्तका बुवा) । त्यतिबेला दलित समुदाय पढाईबाट बञ्चित थियो । शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्येश्यसहित पाठशाला सबैका लागि खुला गरियो । त्यही आधार पाठशाला नै अहिलेको महेन्द्र मावि हो । 

No description available.

डा. पन्तका बुवा स्व. चुडामणि पन्त । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update