Paschim Express
कर्णाली पुल अझै केहीदिन बन्द रहने 

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा सोमबार दिउँसो विरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना५ख ५२९७ नम्बरको ट्रकमाथि एक्कासी आगलागी भएको थियो । 

ट्रकमा लागेको आगो पुलका केबलहरुमा समेत सल्किएपछि सवारी साधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गरिरहेको छ । 

पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँया तर्फका ७–७ केबल जलेको पाइएको बताए । जलेका केबलसहित पुलको सतहको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारी साधन चलाउन नमिल्ने अधिकारीले जानकारी दिए ।

पुलका दुवैतर्फका १४ वटा केबल जलेको भएपनि अहिलेसम्म थप क्षति भएको नदेखिएको तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ । उनले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारी साधन चलाउन नमिल्ने बताए ।

अहिले पुलको सतहको मर्मत सम्भार गरिने बताउँदै अधिकारीले आगोले क्षति गरेका केबल भने तत्काल मर्मत नहुने बताए । 

सोमबार साँझ विरगञ्जबाट लाइटर बोकेर आइरहेको ट्रक कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा आगो लागेको थियो । सोही आगोको लप्काले पुलका फलामे केबलमा समातेपछि जलेका थिए । फलामे केबलको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकको भनाई छ ।

आगलागीपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । अहिले सुदूरपश्चिम भित्रिने र छुट्ने सवारी साधन वैकल्पिक बाटोको प्रयोग गरेर हुलाकी राजमार्गमार्फत चलिरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update