Paschim Express
डडेल्धुराको परशुराम नगरपालिकाका हाकिममाथि कार्यपालिका बैठकमै कुटपिट

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकिय अधिकृतमाथि कुटपिट भएको छ । अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिकाका बहुमत सदस्यहरुले कुटपिट गरेको बताइएको छ ।

कार्यपालिकामा नेकपा माओवादी केन्द्रका बहुमत सदस्य रहेका छन् । अहिले अधिकृत जोशीको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ ।  

स्थानीय पत्रकार पदम जोराका अनुसार आज(बिहीबार) बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाँकिएको थियो । तर, कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मंसिर पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक र प्रशासनिक अधिकारसहित उनलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

किन भयो विवाद ? 

नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।  

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् ।

तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख पनि माओवादी केन्द्रबाटै विजयी भएकी हुन् । 

यता परशुराम नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर धामीले भने आफूहरूले हाकिममाथि कुटपिट नगरेको बताएका छन् । `हामीले कुटपिट गरेका होइनौं । मेयर सापले कार्यपालिका बैठक नै बहुमत सदस्यलाई लत्याएर संचालन गर्नुभएको हो । हामीमाथि मिथ्या आरोप लगाएको हो,´ उनले भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update