Paschim Express
डडेल्धुराको परशुरामका कर्मचारी आन्दोलनमा उत्रिए, अत्यावश्यक बाहेकका सेवा बन्द

डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरुले नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको विज्ञप्तीमार्फत जानकारी दिएका छन् । विज्ञप्तीमा उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामी लगायतको समूहले  ज्यानमार्ने उद्देश्यलेसुनियोजित हमला गर्दै गम्भिर घाइते बनाएको उल्लेख छ ।

‘यस्तो अमानविय व्यवहार र हमला गर्ने दोषीमाथि कडाभन्दा कडा कानूनी कारबाही नहुन्जेल सम्मका लागि परशुराम नगरपालिकका तथा यसअन्तर्गतका सम्पूर्ण कार्यालयहरुको अतिआवश्यक सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि ठप्प गरिएको जानकारी गराउदछौं,’ विज्ञप्तीमा भनिएको छ । 

शिक्षा शाखा प्रमुखबाट आफ्नो स्वार्थ पूर्ति नभएको कारण यसअघि पनि पटकपटक हातपातको प्रयास  भएको, जागिर खाइदिने धम्की दिने गरेको र काज फिर्ता गर्न दबाव दिँदै आएको पनि विज्ञप्तीमा भनिएको छ । कर्मचारीका तर्फबाट घटनाको निन्दा तथा भत्सर्ना पनि गरिएको छ ।

‘आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि कर्मचारीहरुलाई गैरकानुनी दबाव तथा धाकधम्की दिने गरेको र तिनै निहित आपसी राजनीति द्धन्द्धको सिकार कर्मचारीलाई बनाउन खोज्ने प्रवृत्तिले कार्यालयको कामकारबाहीमा बाधा पर्ने गरेको र विगतका दिनमा पनि यस्तै प्रकृतिका घटनाले सेवा प्रवाहमा कठिनाइ हँदै आएको छ,’ परशुराम नगरपालिका सम्पूर्ण कर्मचारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस किसिमको अराजक, अमानविय र अक्षम्य अपराधको उचित कारबाही गर्न सरोकारवा सबैलाई गम्भिर भई सेवा प्रवाहको सहज वातावारण सिर्जनाको अपेक्षा गर्दछौं । सार्वजनिक सेवामा अहोरात्र सेवारत कर्मचारीको मानमर्यादाको ख्याल राख्दै सम्पूर्ण कर्मचारीहरु भयरहित वातारणममा ससम्मान कामकाज गर्ने अवस्था सिर्जना गरिदिनहुन सम्बद्ध सबै पक्षमाहार्दिक अपिल गर्दछौं ।’

बिहीबार भएको कार्यपालिका सदस्यहरुले बैठकमा बिरोध गर्दै कुर्सी हानाहान गरेको बताइएको छ । नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । आजको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रकासकिय अधिकृत कृष्णदेव जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।  

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख माओवादी केन्द्रबाटै विजयी भएकी हुन् ।

यता परशुराम नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर धामीले भने आफूहरूले हाकिममाथि कुटपिट नगरेको बताएका छन् । `हामीले कुटपिट गरेका होइनौं । मेयर सापले कार्यपालिका बैठक नै बहुमत सदस्यलाई लत्याएर संचालन गर्नुभएको हो । हामीमाथि मिथ्या आरोप लगाएको हो,´ उनले भनेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update