Paschim Express
डडेल्धुराको परशुरामका हाकिममाथि कुटपिट : जिम्मा जमानीमा छुटे उपमेयर र वडा अध्यक्ष

डडेल्धुरा । डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जना जिम्मा जमानीमा छुटेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई जिम्मा जमानीमा छोडिएको हो ।

`कर्मचारीको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरेका थियौं,´ उनले भने, `तर कसैले पनि जाहेरी नदिएपछि आफन्तको जिम्मा लगाएर छोडेका छौं ।´ अनुसन्धान जारी राख्ने गरि तीनै जनालाई छोडिएको डिएसपी कार्कीले पश्चिमएक्सप्रेसलाई बताए ।

बिहीबार भएको कार्यपालिका बैठकमा जोशीमाथि कुटपिट भएको थियो । काङ्ग्रेसका कार्यपालिका सदस्यहरूका अनुसार नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । बिहीबारको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।  

सोही विषयमा आक्रोशित भएका सदस्यहरुले हलमा भएका कुर्सी तोडफोड गर्दै अधिकृतमाथि हातपात गरेका थिए । जोशीलाई जोगबुढामा सामान्य उपचारपछि धनगढी पठाइएको छ । यस्तै केही समयअघि नगरपालिकाकी उपप्रमुख बिमलाकुमारी बोहराले आफ्ना श्रीमानलाई करारमा जागिर खुवाउन प्रयास गरेकी थिइन् । तर, असफल भएपछि अधिकृतिसँग उनले रिसिइवी राखेको बताइएको छ । उपप्रमुख माओवादी केन्द्रबाटै विजयी भएकी हुन् ।

यता नगरपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष कर्णबहादुर धामीले भने आफूहरूले हाकिममाथि कुटपिट नगरेको बताएका छन् । `हामीले कुटपिट गरेका होइनौं । मेयर सापले कार्यपालिका बैठक नै बहुमत सदस्यलाई लत्याएर संचालन गर्नुभएको हो । हामीमाथि मिथ्या आरोप लगाएको हो,´ उनले भनेका छन् । उनले जोशीलाई कुटपिटबाट नभ लडेर चोट लागेको हुनसक्ने पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update