Paschim Express
सुदूरपश्चिममा सुरु भयो छोरीचेली भेट्ने  ‘भिटौलो’ पर्व
फाइल फोटो

डडेल्धुरा । सुदूरपश्चिममा भिटौलो पर्व सुरु भएको छ। चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा भिटौलो पर्व सुरु भएको हो । 

विशेषगरी दाजुभाई तथा दिदीबहिनी बीचको प्रेम सम्बन्ध दर्शाउने पर्वका रुपमा रहेको भिटौलो बैतडी, दार्चुला, डडेल्धुरा, बझाङसहित सीमावर्ती भारतीय गाउँतिर विवाह भईसकेकी चेलीबेटीलाई माइतीका तर्फबाट दाजुभाईले भेट्ने चलनको रुपमा प्रचलित छ।

चैत्र महिनालाई खडेरीको महिनाको रुपमा पनि लिने गरिन्छ । महिना दिनसम्म मनाइने यस पर्वमा भण्डारण गरेर राखिएको खाद्यान्न पनि सकिएर जाने भएकाले चेलीबेटीलाई माइतीले मिठो मसिनो खानेकुरा कोसेलीसहित भेट्ने चलन रही आएको छ ।

परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत्र महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लत्ताकपडा छोरीबहिनीको घरमा पुर्‍याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको छ । 

पहिले मानिस खेतीपाती र घरकै काममा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोको खबर समेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरी चेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको बताइन्छ । 

यस्तै, भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन रहेको छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन झन् बढ्दै गएको छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update