Paschim Express
डडेल्धुरा एमालेको अधिवेशन : अध्यक्षमा दुईजना आकांक्षी, शाहीलाई सर्वसम्मत बनाउने प्रयास

डडेल्धुरा । चैत ५ गते नेकपा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन हुँदै छ । अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरेपछि बन्दसत्रमा प्रवेशसँगै नयाँ नेतृत्वको प्रक्रिया सुरु हुनेछ । 

एमाले नवौँ महाधिवेशनपछि सबै तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णयअनुरूप डडेल्धुरामा पनि नवौँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन हुनेछ । एमाले डडेल्धुराको नेतृत्व (अध्यक्ष) का लागि दुई नेता आकांक्षी देखिएका छन् । अध्यक्षका लागि गजेन्द्र शाही र चक्रप्रसाद स्नेहीको नाम चर्चामा छ । शाही एमालेका जिल्ला संयोजक हुन् । एक कार्यकाल जिल्ला संयोजक भएर काम गरिसकेका शाहीलाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउने तयारी रहेको पनि एमाले डडेल्धुरामा चर्चा छ ।

‘जिल्ला संयोजक भएर एमाले डडेल्धुराको संगठन बलियो बनाउने शाहीले काम गर्दै आउनुभएको छ,’ एमाले डडेल्धुराका एक नेताले भने, ‘त्यसैले जिल्ला अध्यक्षका लागि उहाँलाई नै अवसर दिनुपर्छ भन्नेमा एमाले डडेल्धुराका जिल्ला र केन्द्रका अधिकांश नेताहरु सहमत देखिएका छन् ।’

शाहीले जिल्ला संयोजक भएका कारण पनि जिल्ला अध्यक्षका लागि स्वभाविक रुपमा दाबी पेश गरेको बताएका छन् । एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहराले पनि जिल्ला नेतृत्व सर्वसम्मत रुपमा चयन हुने बताए । ‘अधिवेशन उद्घाटन गरेपछि बन्दसत्रमा प्रवेशसँगै नयाँ नेतृत्वको प्रक्रिया सुरु हुनेछ,’ उनले भने । 

यता पूर्व राष्ट्रियसभा सदस्य रहेका स्नेहीले भने जिल्ला अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेको बताएका छन् । पछिल्लोसमय एमाले डडेल्धुराभित्र गुटबन्दी र पार्टी विभाजनलेसंगठन निकै कमजोर भएको बताउँदै उनले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनका लागि अध्यक्षमा दाबी गरेको बताए । 

यसअघि अध्यक्षका लागि विशेश्वरप्रसाद ओझा (विपिन) को नाम पनि चर्चामा थियो । तर ओझाले भने आफूले दावेदारी प्रस्तुत नगरेको बताए । ‘गजेन्द्र शाहीज्यूले एक कार्यकाल जिल्ला संयोजक भएर काम गरिसक्नुभएको छ,’ उनले भने, ‘त्यसैले उहाँले नै अवसर पाउनुपर्छ भन्ने हो । सबै साथीहरु त्यसैमा सहमत होलान भन्ने विश्वास छ ।’ 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update