Paschim Express
भीमदत्त बहुमुखी क्याम्पसले जित्यो डडेल्धुरा महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको उपाधि

डडेल्धुरा । डडेल्धुरा महोत्सवमा आयोजित भलिबल प्रतियोगितामा भीमदत्त बहुमुखी क्याम्पस च्याम्पियन भएको छ । फाइनलमा एमबी एजुकेशलनलाई ३–१ को सेटले पराजित गर्दै भीमदत्त बहुमुखी क्याम्पस च्याम्पियन भएको हो । एमबी एजुकेशलनले पहिलो सेट जितेर अग्रता लिएकोमा त्यसपछिका लगातार तीन सेट जितेर भीमदत्त बहुमुखी क्याम्पसले उपाधि जितेको भलिबल प्रतियोगिताका संयोजक राजेन्द्र ठगुन्नाले जानकारी दिए । यस्तै एमबी स्टिल ग्रुपलाई पराजित गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तेस्रो भएको छ । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई ट्रफिसहित नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रथम हुने टिमले ५५ हजार, द्वितीयले ३५ हजार र तृतीयले २५ हजार पाउने आयोजक डडेल्धुरा उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार प्रथम पुरस्कारको प्रायोजन अमरगढी नगरपालिका वडा नम्बर ५ वडाअध्यक्ष टंक क्षेत्री,  द्वितीय पुरस्कारको प्रायोजन डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका कोषाध्यक्ष एवं सिटी कम्प्लेक्सका प्रोप्राइटर दिपकबहादुर सिंह र तृतीय पुरस्कारको प्रायोजन मायामेट्रो हस्पिटल प्रालि धनगढीले गरेको छ ।

पुरस्कार भोलि वितरण गरिने छ । ‘डडेल्धुराको दिगो विकास र अर्थतन्त्रको आधार स् कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नारासहित फागुन २४ गतेदेखि जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा महोत्सव भइरहेको छ । महोत्सव भोलि समापन हुने छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update