Paschim Express
डडेल्धुराकी सुन्दरदेवीको अनवरत यात्रा  : जो बनेकी छिन् आमा र बच्चाको भरोसा

डडेल्धुरा । महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।

चिकित्सकको सहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन छन् भने भएका अन्य स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन सकेका छैनन् । यस्तो अवस्थामा स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेख्य रूपमा सह्राहनीय छ । सोही भूमीका निर्वाह गरिरहेकी छिन् अमरगढी नगरपालिका–१० की सुन्दरीदेवी भट्ट । 

११ वर्ष पुग्यो उनले महिला स्वास्थ्य स्वयंसेविका भएर सेवा गर्न थालेको । हहेक १५÷१५ दिनमा गाउँमा सबै महिलाहरुलाई भेला गरेर महिला र बालबालिकाहरुको स्वास्थ्यको बारेमा छलफल गर्छिन उनी । बच्चा आमाको पेटमा रहेदेखि नै कसरी स्वच्छ बच्चा जन्माउने, आमा र बच्चा दुबैको ज्यान सुरक्षित कसरी राख्ने भन्ने बारेमा उनको ध्यान सधैँ केन्द्रित हुन्छ । ‘हजार दिने आमाको घरमा त साँझ र विहान एकपटक पुगेकै छु,’ उनी भन्छिन्, ‘बच्चालाई खुवाउने तरिका, सफसफाईको अवस्था लगायतका विषयमा बुझ्न र आवश्यक परामर्श दिनका लागि म उनीहरुको घरमै पुगेकी हुन्छु ।’

०६९ सालदेखि अहिलेसम्म निस्वार्थ भावनाले उनी गाउँमा महिला बालबालिकातथा समग्र नागरिकको स्वास्थ्य स्वस्थ राख्ने काममै तल्लिन छन् । बच्चामा सामान्य पोषणको अवस्था समेत ख्याल नगर्ने स्थानीयहरुलाई सुन्दरीदेवीले घरघर पुगेर कुपोषण मुक्त बनाउने काम गरेकी छिन् । 

०७९ चैत पहिलो साता अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको थियो । स्थानीय तह कार्यान्वय निर्देशिका ०७८ कार्यान्वयन आएपछि देशकै पहिलो वडाका रुपमा वडा नम्बर १० लाई पोषणमैत्री घोषणा गरिएको थियो । सोही वडाकी स्वास्थ्य स्वयंसेविका रहेकी भट्टको भूमीका पोषणमैत्री वडा घोषणा गर्दा निकै महत्वपूर्ण थियो ।

‘स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकिय प्रवन्ध गरी सात वटा विषयका ७६ वटा सूचकमा सन्तोषजनक नजिता ल्याउनका लागि सक्रिय भएर लागेका थियौं,’ भट्टले भनिन्, ‘सबैको अग्रसरतामा हाल वडामा रहेका ३ सय २० घरधुरीमा शुद्ध खानेपानीका लागि फिल्टर, सरसफाइका क्षेत्रमा भाडा धुने र सुकाउने च्याङ्ग, जुठ्यान, करेसाबारी, कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि खाल्टा रहेको छ । यस्तै गर्भपतिले स्वास्थ्य संस्थामा नियमित ८ पटकसम्म चेकजाँच गर्दै आएका छन् भने विद्यालयमा विद्यालय नर्स, गर्भवती र महिनावारी भएकालाई अनिवार्य रुपमा आइरन चक्की सेवन गरिरहेका छन् ।’

उनले गर्भवती र सुत्केरी महिलालाई मात्रै नभएर घरमुलीलाई नै महिला र बालबालिकाको स्वास्थ्य अवस्था सुधारका लागि घरमै पुगेर परामर्श दिने गरेकी छिन् । स्थानीय मधुरादेवी भट्ट भन्छिन्, ‘पहिलेको समय नै फरक थियो । अहिले बालबालिका र सुत्केरी तथा गर्भवतीलाई स्वस्थ राख्नका लागि धेरै हेरचाह गर्नुपर्छ भनेर उहाँ (स्वास्थ्य स्वयंसेविका)ले सासुलाई पनि सम्झाउने गर्नुहुन्छ ।’

घरघर पुगेर गाउँका महिला गर्भवती भए त्यसबारे तथ्यांक राख्नुका साथै महिलालाई चारपटक तोकिएको समयमा गर्भ जाँच गर्न स्वास्थ्य संस्था पठाउने काम पनि स्वयंसेविकाले नै गरेकी छिन् । ‘ग्रामिण क्षेत्रमा दिइने हरेक खोपमा सुन्दरदेवीकै ठुलो काम हुन्छ,’ अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले् भने, ‘सुन्दरीदेवीको भुमिकाकै कारण ग्रामिण स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको छ । उनले स्वास्थ्य क्षेत्रमा नमुना काम गर्दै आएकी छिन् ।’

सुन्दरदेवीले गाउँमा जन्मेका हरेक बालबालिकाहरु कुपोषित हुनबाट जोगाउनका लागि पौष्टीक आहारा खुवाउनेदेखि हेरचार गर्ने बारेमा हरेक दिन जनचेतना जगाउने काम गर्दै आएकी छिन् । उनले जागरण जगाउन थालेपछि गाउँमा झाडापखाला, दादुरा, कुपोषण निमोनिया जस्ता रोगका कारणले बालबालिकाको ज्यान जाने घटना पुरै रोकिएको छ । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् । जनस्तरमा रातदिन नभनी खटिएका स्वयमसेविकालाई सरकारले दैनिक जिविकोपार्जन गर्ने उचित पारश्रमिकको ब्यावस्थापन भने गर्न नसकेको गुनासो छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update