Paschim Express
सुदूरपश्चिम सरकारबारे निर्णय लिन नागरिक उन्मुक्तिले बोलायो संसदीय दलको बैठक

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको बैठक बोलाएको छ । नाउपाले आइतबार दिउँसो २ बजे प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो ।

आर्थिक मामिलामन्त्रीसमेत रहेका दलका नेता घनश्याम चौधरीले बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा निर्णय गर्ने बताए ।

संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादील पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए । नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउने प्रयासमा उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए ।

चारजना मन्त्री थपे पनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थन नगरेका कारण अहिले २५ सांसदसहित अल्पमतमै छन् । नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद छ । श्रेष्ठले सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिए पनि चौधरीले समर्थन कायमै रहेको बताएका थिए ।

विवादकैबीच नाउपाका बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका बेला अध्यक्ष श्रेष्ठले भने ह्वीप जारी गर्दै विश्वासको मत दिएकी थिइन् । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update