Paschim Express
डडेल्धुरा पुगेर ओलीले सोधे– नेकपा एमालेले त यहाँ उम्मेदवारै उठाएन क्या हो ? 

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले डडेल्धुरामा अब एमाले चुनाव लडेर जित्ने दाबी गरेका छन् । परशुराम नगरपालिकाको रंग मैदानमा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘नेकपा एमालेले त यहाँ उम्मेदवारै उठाएन क्या हो,’ मञ्चमा रहेका अतिथिलाई जिज्ञासा राख्दै ओलीले भने, ‘नेकपा एमालेले सघायो मात्रै । जब उठ्दै उठेको छैन त कहाँबाट जित्छ । अब नेकपा एमाले कसैलाई सघाउन जानेभन्दा पनि उठ्ने, लड्ने र जित्ने काम गर्छ यहाँ । म साथीहरुलाई त्यो तयारी गर्न आग्रह गर्दछु ।’

गत निर्वाचनमा नेकपा एमालेले डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवार उठाएको थिएन । उसले नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ललाई सहयोग गरेको थियो । यस्तै अधिवेशनको उद्धघाटन गर्दै ओलीले वर्तमान सरकार नयाँ अभियान र नयाँ जागरणका साथ अघि बढिरहेको बताएका छन् ।

एमाले नवौँ महाधिवेशनपछि सबै तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णयअनुरूप डडेल्धुरामा पनि सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन हुनेछ । एमाले डडेल्धुराको नेतृत्व (अध्यक्ष) का लागि दुई नेता आकांक्षी देखिएका छन् । अध्यक्षका लागि गजेन्द्र शाही र चक्रप्रसाद स्नेहीको नाम चर्चामा छ । शाही एमालेका जिल्ला संयोजक हुन् । 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update