Paschim Express
डडेल्धुराकी तुलसी : ‘जादुमय स्वर’ छ, तर गायिका बन्ने सपनामा गरिबीले लगाउँदैछ ब्रेक

डडेल्धुरा । तुलसी बिकको सधैं पहिलो रोजाइ रह्यो, गीत गाउने । तर, परिस्थितिले गायिका बन्ने बालसपना पूरा गर्न सकेकी छैनन् उनले । घरको कमजोर आर्थिक अवस्थाले गायिका बन्ने सपनामा अझैसम्म ब्रेक लगाइरहेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका–१ की बिकले कक्षा ५ मा अध्ययन गर्दादेखि नै गीत गाउन थालेकी हुन् । डेउडा र त्योभित्र पनि ठाडी भाका उनलाई असाध्यै मन पर्ने । उनले गीत गाउँदा धेरैले ‘जादुमय स्वर’ छ पनि भन्थे । 

तुलसीले अध्ययन गरिरहेको भागेश्वर गाउँपालिका वडा नम्बर १ कै पनिउटमा रहेको कैलपाल माविमा पदमबहादुर जोरा शिक्षक थिए । विद्यार्थीमाझ उनको परिचय केही छुट्टै थियो । तुलसी सम्झिदै भन्छिन्, ‘जोरा सर निकै कडा हुनुहुन्थ्यो । गीत गाउँदा होस् वा नृत्य गर्दा, विद्यार्थीमा भएको कमजोरी उहाँले खुलेरै भन्नुहुन्थ्यो । तर एकदिन मैले गीत गाएपछि मेरो स्वरको उहाँले निकै तारिफ गर्नुभयो । सोही दिनदेखि मैले पनि गायिका बन्ने सपना देख्न थालेकी हुँ ।’

तर सबैका सपना पूरा हुँदैनन् भन्ने तुलसीलाई पनि थाहा थियो । तुलसीको सपना पूरा गर्न भने परिवारको कमजोर आर्थिक अवस्था बाधक बनिदिन्थ्यो । ‘तिमिले देखेको गायिका बन्ने सपना हामीले पूरा गर्न सक्दैनौं भन्नुहुन्थ्यो आमाबुवाले,’ तुलसी भन्छिन्, ‘अब उमेर पुगिसक्यो विवाह गरिदिन्छु पनि भन्नुहुन्थ्यो । गरिबीकै कारण ११ कक्षामै मेरो पढाई पनि छुट्यो । तर मैले सपना देख्न भने छोडिन ।’

उनले डडेल्धु्रा सदरमुकाममा आएर केही समय एफएम रेडियोमा पनि काम गरिन । तर, डडेल्धुरामै बसेर गायिका बन्ने सपना पूरा हुने संकेत देखिएन । ‘५ महिना अगाडि घरपरिवारलाई पनि धेरै जानकारी नदिएर म काठमाडौं पुगे,’ उनी भन्छिन्, ‘पहिले त साथीहरुसंग बस्थे । तर संगत ठिक नलागेपछि मलाई काठमाडौंको बसाई निकै कठिन भयो । एक साता त मैले सडकमै बसेर कटाए ।’

सानैदेखि गीत गाउने भएर होला, तुलसीको परिचय केही गायकहरुसंग पनि थियो । तीनैमध्येका एक थिए गायक भानुभक्त जोशी । भागेश्वर गाउँपालिकाकै रुपालमा वर्षाै पहिले आयोजित कार्यक्रममा तुलसीले भानुभक्तसंगै गीत गाएकी थिइन । ‘भानुभक्त दाई मेरो स्वर सुनेर निकै प्रभावित हुनुभएको थियो,’ उनले भनिन्, ‘एकपटक तिम्रो स्वर मिडियामा आयो भने भाइरल नै हुन्छ भन्नुहुन्थ्यो उहाँले ।’

उनै भानुभक्तले तुलसीलाई लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणीसम्म पुगाएका छन् । तुलसीले कार्यक्रममा गीत पनि गाएकी छिन् । अहिले तुलसीको चर्चा पनि चुलिएको छ । ‘मैले जिन्दगीमा एउटा मात्रै सपना देखेकी छु,’ उनी भन्छिन्, ‘त्यो सपना भनेको गायिका बन्ने हो । मेरो सपना पूरा हुने संघारमा पनि पुगेको छ । मैले एउटा गीत पनि रेकर्ड गराइसकेकी छु ।’

तुलसीको गायिका बन्ने सपना पूरा गर्न सहयोग संकलन अभियान सुरु गरिएको छ । उनको सांगितिक यात्रा सहज होस् भन्ने उद्येश्यले भागेश्वर गाउँपालिका–१ का युवा मोहनसिंह ठकुराठीले आर्थिक सहयोग संकलन अभियान सुरु गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update