Paschim Express
डडेल्धुराको परशुरामका हाकिममाथि कुटपिट : चार सदस्यीय छानबिन समिति गठन

डडेल्धुरा । जिल्लास्थित परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको एक सातापछि बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो । 

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीको संयोजकत्वमा गठन गरिएको समितिमा कार्यालयकै नायब सुब्बा चन्द्रबहादुर रोकाया, जिल्ला प्रहरी कार्यालयका एकजना प्रहरी निरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका एकजना प्रतिनिधिलाई सदस्य राखिएको छ । 

छानबिन समितिका संयोजक जोशीका अनुसार आज बसेको बैठकमा कार्यालयको सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका कर्मचारीलाई बिहीबारदेखि सेवा सुचारु गर्न आग्रह गर्ने, स्थानीय प्रशासनले सुरक्षाको व्यवस्थापन गर्ने, अब उप्राप्त त्यस्ता घटना घट्न नदिने र चार सदस्यीय समितिले घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, सुरक्षा निकायका प्रमुख, परशुराम नगरपालिकाका उपमेयर बिमलाकुमारी बोहरा र विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । 

चैत १ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो । कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै कार्यपालिका बैठकमा उपमेयर बिमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामी लगायतको समूहले ज्यानमार्ने उद्देश्यले सुनियोजित हमला गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई गम्भिर घाइते बनाएको उल्लेख गरेका थिए । 

तर ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामीले भने कुटपिटको आरोप निराधार भएको बताउँदै आएका छन् । कार्यपालिका बैठकमा दुईपक्षबीच विवाद भएको र सोही क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई चिप्लिएर चोट लागेको हुनसक्ने उनको भनाई छ । कर्मचारीहरु भने नगरपालिकासहित मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा छन् । 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update