Paschim Express
महाकाली नदीमा विपद् सम्बन्धी अन्तरदेशीय पूर्वसूचना संयन्त्रको कृत्रिम नमूना अभ्यास सम्पन्न

डडेल्धुरा । नेपाल र भारतका नागरिकको सहभागितामा महाकाली नदीमा विपद् सम्बन्धी अन्तरदेशीय पूर्वसूचना नमूना अभ्यास गरिएको छ । नेपालका दार्चुला, बैतडी, कञ्चनपुर र डडेल्धुरामा नदीबाट प्रभावित क्षेत्रका स्थानीय र भारतका उत्तर प्रदेश र उत्तराखण्डका स्थानीयहरुको सहभागितामा विपद् आउनुभन्दा पहिले र आउँदाको पूर्वसूचना प्रणाली सम्बन्धी नमुना अभ्यास गरिएको हो ।

ग्रामिण महिला विकास तथा एकता केन्द्र(रुडुक) र अक्सफाम नेपालसँगको सहकार्यमा परशुराम नगरपालिकामा संचालित दक्षिण एशियाली सिमा नदीको सामुदायिक सदुयोग ट्रोसा २ परियोजना अन्तर्गत महाकाली नदीको किनार परशुराम–५ परशुराम धाममा अन्तरदेशीय पूर्वसुचना प्रणाली (संयन्त्र) विस्तार सम्बन्धमा कृतिम नमुना अभ्यास सहितको कार्यक्रम सम्पन्न भएको रुडुकका राष्ट्रिय निर्देशक कृष्णकुमार श्रेष्ठले बताए ।

नेपाल र भारतका विभिन्न गाउँमा करिब एक सय जनाको सहभागितामा पुर्वसूचना प्रणालीको नमुना अभ्यास गरिएको थियो । 

महाकाली नदी र अन्य नदीमा बाढीपहिरो आउँदा पहाडदेखि तराईसम्म सूचना पुगाउन स्थानीयहरुले सूचना संयन्त्र बनाएका छन् । स्थानीयहरुको सहभागितामा पुर्वसूचना प्रणाली धेरै प्रभावकारी भएका कारण यसले स्थानीय क्षेत्रमा बाढीबाट जोखिम कम गर्न ठुलो काम गरेको परशुराम नगरपालिका नगरप्रमुख भरत बडायर जोशीले बताए ।

नेपालको सूदूरपश्चिममा बाढी आउँदा भारतलाई पनि असर गर्ने र भारतको उत्तरप्रदेश र उत्तराखण्डमा बाढी आउँदा नेपाललाई असर पर्ने भएका कारण यो संयन्त्रणले पुर्वसूचनामा राम्रो काम गरिरहेको भारतको सेडारकी सेयर रिसर्च एसोसियट डाक्टर रेनु सिरालले बताइन् ।

महाकालीको उद्गमस्थलदेखि महाकालीको पुछारसम्म विपद्को सूचना पुगाउने काम स्थानीयहरुको सहभागिता धेरै नै राम्रो हुने महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्री बिष्टले बताइन ।

तीन वर्ष अघिदेखि डडेल्धुराको परशुराममा ट्रोसा परियोजनामार्फत स्थानीय क्षेत्रमा विपद्को पूर्वतयारी, पूर्वसूचना प्रणाली सम्बन्धी काम हुँदै आएको छ । 
नेपाल र भारतको सीमा क्षेत्र रहेको महाकाली नदीमा ट्रोसा परियोजनाले अन्तरदेशीय विपद्का मुद्धामा लामो समयदेखि छलफलसमेत गर्दै आएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँदले बताए ।

नमूना अभ्यास गराउन सिआरडिएस दार्चुला, रुडेस बैतडी, निड्स कन्चनपुर, सिडार देहरादुन भारत, जिडिएस पलिया भारत, महिला सशक्तिकरण केन्द्रहरु, समुदायस्तरीय पूर्वसूचना कार्यदल सदस्यहरुको सहभागिता थियो ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update