Paschim Express
डडेल्धुराका चार स्थानमा निःशुल्क परिवार नियोजन शिविर हुँदै

डडेल्धुरा । डडेल्धुराका चार ठाउँमा निःशुल्क परिवार नियोजन शिविर आयोजना हुने भएको छ ।

स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो परिवार नेपालको सहकार्य र पालिकाहरूको समन्वयमा उक्त शिविर आयोजना गरिन लागिएको हो ।

कार्यालयले एक सूचना जारी गर्दै सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमा आएर सेवा लिन अनुरोधसमेत गरेको छ। नवदुर्गा स्वास्थय चौकी डाँडावनमा यही चैत ८ गते तथा नेपाल रेडक्रस भवन, तुफानडाँडामा चैत ९ र १० गते निःशुल्क परिवार नियोजन शिविर आयोजना हुनेछ ।

यसैगरी जिल्लाको भित्रीमधेसमा पर्ने आलिताल स्वास्थ्य चौकी गोदाममा यही चैत १२ र परशुराम नगरपालिका–१२ स्थित जोगबुडा अस्पतालमा चैत १३ गते शिविर आयोजना गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

मिनील्याप गर्न आउने महिलाहरूले खाना, नास्ता केही नखाई भोको पेट र एकजना आफन्त साथमा लिएर आउन स्वास्थ्यकर्मीको सुझाव छ ।

अनुभवी डाक्टरद्वारा परिवार नियोजनसम्बन्धी महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update