Paschim Express
अजयमेरु कोटको संरक्षण र पूर्वाधार विकास गर्न समन्वय बैठक सम्पन्न, सरसफाई पनि गरियो

डडेल्धुरा । जिल्लामा रहेको अजयमेरु कोटको संरक्षण तथा पर्यटकीय पूर्वाधार विकासका लागि अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर २ मा रहेको कोटमा अन्तरपालिका तथा सरोकारवालासंग समन्वय बैठक भएको हो । 

समन्वय बैठकमा अजयमेरु कोटको संरक्षण र पूर्वाधार विकासका बारेमा छलफल भएको छ । बैठकमा अजयमेरु, भागेश्वर र अमरगढीका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको थियो । यस्तै बिहीबार नै श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रमअन्तर्गत कोटमा सरसफाई पनि गरिएको छ ।

कार्यक्रममा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले अजयमेरु कोटप्रति सबैलाई अपनत्व महसुस गराउनका लागि समन्वय बैठक र श्रमको सम्मान कार्यक्रम राखिएको बताए ।  ‘अजयमेरु कोट भनेको अजयमेरु गाउँपालिकाको मात्रै हो भन्ने सोच बनेको देखिन्छ,’ उनले भने, ‘तर, अजयमेरु कोट सीमा जोडिएका अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको पनि हो । त्योसंगै डडेल्धुराका सात पालिका, सुदूरपश्चिम प्रदेश र सिंगो राष्ट्रको पनि हो । सोही सोचअनुसार यो कार्यक्रम गरेका हौं ।’ 

कार्यक्रममा भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले तत्कालिन डोटी राज्यको राजधानीका रुपमा रहेको अजयमेरु क्षेत्रको धेरै ठुलो महत्व रहेको बताए । ‘अजयमेरु कोटको पर्यटन प्रवद्र्धनका लागि सबैले एकजुट भएर लाग्न आवश्यक छ,’ अध्यक्ष चटौतले भने । अजयमेरु गाउँपालिकाका उपाध्यक्ष बसन्ती पालले कोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि गाउँपालिका सक्रिय भएर लागेको बताउँदै सोहीअन्तर्गत बिहीबार सरसफाई कार्यक्रम राखिएको बताइन् । 

अजयमेरु कोटमा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेर काम भइरहेको छ भने नेपाली सेनाले पनि विभिन्न संरचना बनाइरहेको छ । कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, अमरगढी नगरपालिकाका उपमेयर पार्वती झुकाल, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पुष्पा ठकुराठी, अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्याय, जिल्लास्थित सुरक्षा निकायका प्रमुखसंगै अजयमेरु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । 

डडेल्धुरा जिल्लाको सदरमुकामबाट पश्चिमतर्फ ७ किलोमिटरको दुरीमा बस्ती र खोलाको बीचमा प्राचीनस्थलको रूपमा अजयमेरुकोट देखिन्छ । बाइसे राज्यकालीन डोटी राज्यको राजधानी कोट प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार, देबल, पानीका न्वाला, घोडा तबेला, बैठक कक्ष,  पोखरी आदि वास्तुकलाको आकर्षण केन्द्र हो । 


 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update